स्थानीय निर्वाचन : जनमत बढी, जित थोरै कम हुने देखियो – एमाले उपमहासचिव ज्ञवाली

डिसी नेपाल
१ जेठ २०७९ १४:३२
5.3k
Shares

काठमाडौं। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा गठबन्धन सरकारले सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाएका छन्। गठबन्धन दलहरूबाट एमालेविरुद्ध घेराबन्दी र अनेक षड्यन्त्र पनि भएको ज्ञवालीले बताए।

तर, पनि प्रारम्भिक अग्रता र सार्वजनिक भइसकेको स्थानीय तहको मत परिणामलाई आधार मान्दा एमाले सन्तोष मान्ने ठाउँ रहेको बताए। ‘जुन ढंगको घेराबन्दी, मोर्चा र सत्ताको दुरुपयोगको बीचमा हामीले निर्वाचन लड्यौँ । त्यस हिसाबले हेर्दा प्रारम्भिक परिणाम र घोषणा भएकासँगै अग्रता हेर्दा समग्रमा एक खालको सन्तोषजनक नै परिणाम हो र यो उल्लेख हो’, ज्ञवालीले भने।

उनले स्थानीय तह निर्वाचनबाट जनमत एमालेको पक्षमा रहेको प्रारम्भिक संकेत मिलेको दाबी गरेका छन्। उनले भने, ‘अलिकति गहिरो विश्लेषण गर्न पर्सिसम्म पर्खिनुपर्छ। त्यसले रुझानलाई देखाउँछ। अहिले प्रारम्भिक रुझान भएकोले टिप्पणी गरिहाल्ने स्थिति छैन तर जनमत एमालेको पक्षमा रहेको संकेत ग‍र्‍यो।’

७५३ स्थानीय तहमध्ये २६ वटा स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । ८० वटा स्थानीय तहको भने मत गणना सुरु हुनै बाँकी छ। उपमहासचिव ज्ञवालीले अघिल्लो पटकभन्दा थोरै कम स्थानीय तहमा निर्वाचन जितिने संकेत पनि मिलेको बताए। एमाले २०७४ सालको स्थानीय तह निर्वाचनमा पहिलो पार्टी बनेको थियो। झण्डै तीन सय स्थानीय तह एमालेले जितेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.