कांग्रेसका उम्मेदवारले रूखमा र हँसिया हथौडामा छाप लागेका दुवै मत मेरै भनेपछि गणना स्थगित

डिसी नेपाल
१ जेठ २०७९ १४:३६
7.9k
Shares

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवारले रूख र हँसिया हथौडा दुवै चिन्हमा छाप लागेका दुवै मत आफ्नो नाममै गणना गर्नुपर्ने माग गरेपछि मतगणना स्थगित भएको छ ।

वडा नम्बर १ को १७ सय मत गणना भइरहेको बेला मेयरको स्थानमा हँसिया हथौडा चुनाव चिन्हमा छाप लगाएको भोट पनि गठबन्धन दल कांग्रेसका उम्मेदवार रमेश कार्कीको नाममै गणना गर्नु पर्ने माग राखेपछि मतगणना स्थगित भएको हो ।

बराहक्षेत्रमा गठबन्धन दलका तर्फबाट मेयरमा कांग्रेसका रमेश कार्की र उपमेयरमा माओवादी केन्द्रका अमित गौतम उम्मेदवार छन् । माओवादी केन्द्रले मेयरमा उम्मेदवार नै नउठाएको अवस्थामा मतपत्रमा मेयरको स्थानमा रहेको हसिया हथौडामा पनि मतदाताले छाप लगाएकाले उक्त मतलाई पनि गठबन्धनको मेयरको नाममा गणना गर्नुपर्ने माग भएकाले विवाद भएको हो ।

पछिल्लो परिणामअनुसार मेयर पदमा एमाले उम्मेदवार निलम खनालले ६७८, गठबन्धन दल कांग्रेसका रमेश कार्कीले ५७२, स्वतन्त्र रामबहादुर विष्टले ११५ मत ल्याएका छन् । उपमेयरमा एमालेका नन्दकुमारी सुनुवारले ७११, गठबन्धन माओवादी केन्द्रका अमित गौतमले २५६ मत प्राप्त गरेका छन् । विवाद समाधानका लागि दुवै पक्षवीच छलफल गर्ने तयारी भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.