एमालेले सत्ता गठबन्धनमाथि लगाएको आरोप्रति कांग्रेसले टिप्पणी : प्रारम्भिक नतिजाले एमाले अत्तालियो

डिसी नेपाल
२ जेठ २०७९ १३:३०
276
Shares

काठमाडौं। नेपाली कांग्रेसले सत्ता गठबन्धनमाथि नेकपा एमालेले लगाएको आरोपप्रति आपत्ति जनाएको छ। ‘यही बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) द्धारा नेपाल सरकार र सत्ता गठबन्धनप्रति लगाएको आरोपप्रति हाम्रो गम्भिर ध्यानाकृष्ट भएको छ,’ कांग्रेस प्रवक्ता प्रकाशशरण महतद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।

निर्वाचनमा कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलहरुको पक्षमा आएको परिणाम र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्तिले एमाले अत्तालिएको कांग्रेसले बताएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको परिपक्व, सुझबुझपूर्ण र दूरदर्शिताका कारण स्थानीय तह निर्वाचनमा तालमेल सम्भव भएको र अन्य ठाँउहरुमा मित्रवत प्रतिस्पर्धा भएको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रहित र लोकतन्त्रको संरक्षणको उद्देश्यले भएको तालमेललाई गठबन्धनमा संलग्नसबै राजनीतिक दल र सम्बन्धित दलका नेता तथा कार्यकर्ता, शुभेच्छुक र समर्थक मतदाताहरुले विश्वास गरको दाबी विज्ञप्तिमा गरिएको छ।

‘यही विश्वासको जगमा सत्तारुढ गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको नतिजा आइरहेको छ। यसलाई हामीले स्वभाविक मानेका छौं,’ विज्ञप्तिमा कांग्रेसले भनेको छ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैशाख ३० गते निर्वाचन सम्पन्न भएपछि जारी गरेको विज्ञप्तिमा निर्वाचन निष्पक्ष गर्न प्रमुख भूमिका खेल्ने निर्वाचन आयोग, आयोगद्धारा परिचालित राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिएको स्मरण विज्ञप्तिमा गरिएको छ।

‘तर, निर्वाचनको परिणाम आफूले दावी गरेजस्तो नआएपछि निर्वाचनको सम्पूर्ण चाँजोपाँजो मिलाउने निर्वाचन आयोग, आयोगको माग र खटनपटन अनुसार काम गर्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीले निर्वाह गरेको जिम्मेवारीलाई लिएर सरकारलाई योजनाबद्धरुपमा धाधली गर्‍यो भन्नु गैरजिम्मेवारीपनको पराकाष्ठा हो,’ विज्ञप्तिमा भनिएको छ।

निर्वाचन कार्यतालिकामा उम्मेदवारी दर्ताको समय दुई दिन राख्ने निर्णय निर्वाचन आयोगको भएको र त्यसमा सरकार वा गठबन्धन दलको कुनै भूमिका नरहेको विज्ञप्तिमा स्पष्ट पारिएको छ।

‘निर्वाचनमा सहभागिता महत्वपूर्ण कुरा हो। विजय र पराजय सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकको स्वविवेकले गरेको मतदानमा निर्भर हुने नतिजा मात्र हो।

लोकतन्त्रमा जनताको अभिमतलाई सबैले सहजरुप स्वीकार गर्नु पर्दछ। सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकको विवेकको सम्मान गर्न हामी आग्रह गर्दछौ,’ कांग्रेसले भनेको छ।

सत्तारुढ गठबन्धनले निर्वाचन आचारसंहिताको मर्यादाभित्रै रहेर निर्वाचनमा प्रतिस्पर्धा गरेको दाबी विज्ञप्तिमा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.