भक्तपुरमा निर्वाचित मेयर र उपमेयरले आफ्ना प्रतिस्पर्धी सबैको जमानत जफत गराइदिए

डिसी नेपाल
३ जेठ २०७९ १२:४०
2.6k
Shares

काठमाडौं । भक्तपुर नगरपालिकामा निर्वाचित मेयर नेमकिपाका सुनिल प्रजापतिले आफुबाहेक अरु सबै उम्मेदवारको जमानत जफत गराइदिएका छन् । निर्वाचनमा दोस्रो हुने उम्मेदवारकै जमानत जफत हुनु निकै दुर्लभ घटना हो तर यो दुर्लभ घटना भक्तपुरमा देख्न पाइएको छ ।

कानुन अनुसार उम्मेदवारले जमानत जोगाउन कमतीमा १० प्रतिशत मत ल्याउनुपर्छ । भक्तपुरमा भने विजयी उम्मेदवारले एक्लै २ तिहाईभन्दा धेरै मत ल्याए र बाँकीले १० प्रतिशत पनि ल्याउन सकेनन् ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले क्लिन स्वीप गरेको भक्तपुर नगरपालिकामा मेयरका बाँकी उम्मेदवारले जमानत जोगाउन सकेनन् । नेमकिपाका सुनिल प्रजापतिले २९ हजार २०० मत पाएका छन् ।

भक्तपुरमा ८ वटा दल र पाँच जना स्वतन्त्र उम्मेदवार मेयर पदका लागि मैदानमा उत्रिएका थिए । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार ३५२ मत मात्र पाए । ४३ हजार ३७४ मत खसेकाले जमानत जोगाउन ४३ सय कटाउनुपर्ने थियो ।

एमालेका उम्मेदवार रवीन्द्र लाछिमस्युले २ हजार ८३७ मत पाएका छन् । राप्रपाका बद्री लाखाजुले १ हजार १३८, माओवादी केन्द्रका तुल्सीभक्त सुवालले ७४२, जनमोर्चाका रामभक्त किजुले ४१४, जसपाका राजाराम ढुकुछुले १२१ मत पाए ।

उपमेयरमा पनि नेमकिपाका बाहेक उम्मेदवारले जमानत जोगाउन सकेनन् । उपमेयरमा दोहोरिएकी नेमकिपाका रजनी जोशीले २९ हजार ६९५ मत पाइन् । उनलाई पछ्याएकी एमालेकी रञ्जना खर्बुजाले २ हजार ७८४ मत पाइन् । एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७४२ र राप्रपाकी लक्ष्मी छुस्याबागले १ हजार १८० मत पाइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.