वीरगञ्ज महानगरपालिकामा चार हजार ६५९ मतान्तरले गठबन्धनका सिहंको अग्रता

डिसी नेपाल
३ जेठ २०७९ १९:५२
136
Shares

वीरगञ्ज । मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले चार हजार ६५९ मतान्तरले अग्रतालाई निरन्तरता दिएका छन्।

जसअनुसार सिंह आठ हजार ४७५ मतसहित अग्रता कायम गरेका हुन् भने नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगीले तीन हजार ८१६ मतसहित उनीसँग प्रतिस्र्धामा छन् । महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार वीरगञ्ज महानगरपालिका–१, ३१ र ३२ मतगणना सकिएको छ भने वडा नं २, ३, ४, ५, २९ र ३० को मतगणना जारी छ ।

मतणना गर्न लामो समय लाग्ने भएका कारणले अन्तिम नतिजा आउन एक साता लाग्नेछ । महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का बीच एक समूह बनाएर तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको छ भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच अर्को समूह बनाएर निवर्तमान प्रमुख सरावगीलाई उम्मेदवार बनाएको हो । यद्यपि पर्साका वीरगञ्ज महानगरपालिका बाहेकका अन्य पालिकामा राजनीतिक दलहरुबीच खासै तालमेल भएको छैन ।

पर्सामा मधेस प्रदेशको एक मात्र महानगरपालिका, वीरगञ्ज महानगरपालिकासहित अन्य तीनवटा नगरपालिका र १० वटा गाउँपालिका रहेका छन् । पर्साका अन्य पालिकाहरुमा पनि मतगणना जारी छ ।

जिल्लाको १४ वटै पालिकामा मतगणनाका लागि मतगणनास्थलमा आवश्यक फलामे तारजालीसहित सिसिटिभी जडान गरी व्यवस्थापना मिलाइएको छ । पर्सा जिल्लामा रहेका कूल १४ वटा पालिकाको विभिन्न पदको जनप्रतिनिधिका निर्वाचनका लागि कूल तीन हजार २९७ जना चुनावी प्रतिस्पर्धामा रहेका हुन् । पर्सामा हाल एक लाख ४८ हजार २८३ महिला र एक लाख ९१ हजार ५३७ जना पुरुष र १६ जना तेस्रो लिङ्गी गरी तीन लाख ३९ हजार ८३६ जना मतदाता थिए ।

दुई वडामा जसपा र एकमा एमाले विजयी

मधेस प्रदेशमा रहेको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको दुई वडामा जनता समाजवादी पार्टी (जसपा)र एउटा वडामा एमालेका वडाध्यक्ष प्यानलसहित विजयी भएका छन् । वीरगञ्ज–१ मा जसपाका उम्मेदवार मनोज राउत कुर्मी, वडा नं ३२ मा जसपाकै रेयाज अहमद मिया र वडा नं ३१ मा एमालेका जितेन्द्र यादव वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.