सुनसरीमा ६ पालिकाको नतिजा आउन बाँकी, धरानमा स्वतन्त्रको अग्रता कायमै

डिसी नेपाल
६ जेठ २०७९ १०:११
224
Shares

सुनसरी। सुनसरीका १२ पालिकामध्ये ६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जसमा ३ नगरपालिका र तीन गाउँपालिका छन् । देवानगञ्ज गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टीका वेचनप्रसाद मेहता र उपाध्यक्षमा कांग्रेसकी कुमारीविभा यादव विजयी भएकी छन्।

गढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष मा एमालेले विजयी हासिल गरेको छ। अध्यक्षमा एमालेका आशनायरण चौधरी र उपाध्यक्षमा अनिताकुमारी चौधरी निर्वाचित भइन्।
भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जितको छ। अध्यक्षमा अजमल अख्तर आजाद र उपाध्यक्षमा सुनिताकुमारी उराँव निर्वाचित भएका छन्।

जिल्ला सदरमुकाम इनरुवा नगरपालिकामा पनि कांग्रेस विजयी भएको छ। मेयरमा केदार भण्डारी र उपमेयरमा विनिताकुमारी मेहता विजयी भए।

रामधुनी नगरपालिकाको मेयर र उपमेयर दुवै एमालेले जितेका छ। मेयरमा शंकरलाल चौधरी र उपमेयरमा तारा थापा विजयी भएका छन्।

कांग्रेस पूर्वउपसभापति विजयकुमार गच्छदारको गृह नगर दुहवीमा पनि कांग्रेसले जितेको छ। बहालवाल मेयर वेदनारायण गच्छदार मेयरमा विजयी भएका हुन् । उपमेयरमा फराकिलो मतान्तर सहित कांग्रेसकै मेनुका पोख्रेल विजयी भएकी छिन्।

बाँकी ६ पालिकामा मतगणना जारी छ । कोशी गाउँपालिका, बराहक्षेत्र नगरपालिका, इटहरी उपमहानगरपालिकामा नेपाली कांग्रेस अगाडि छ। बर्जू गाउँपालिकामा भने एमाले अगाडि छ । धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन्।

उनलाई गठबन्धनको तर्फबाट कांग्रेसका मेयर पदका उम्मेदवार किशोर राईले पछाइरहेका छन् । २०७४ साल सम्म धरानलाई लाल किल्ला बनाएको एमाले भने तेस्रो स्थानमा रहेको छ । मत परिणाम आउन बाँकी रहेका पालिकाको केही दिन भित्रमै नतिजा निकाल्ने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.