समृद्ध हेटौंडा उपमहानगर बनाउने नवनिर्वाचित प्रमुख लामाको प्रतिबद्धता
काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाले पहिलोपटक जनजाति महिलालाई नगरप्रमुखको रूपमा पाएको छ । महानगरपालिकामा महिलाले नेतृत्व गरेको भए पनि सङ्घीय राजधानीसमेत रहेको प्रदेशको उपमहानगरले महिला नेतृत्व पाउनु आधा आकाश र धर्ती ढाकेका महिलालाई एक प्रकारको गौरवको महसुस गराएको छ ।
संयोग पनि कस्तो परेको छ भने पूर्ववर्ती पार्टीका आफैँले नेतासमेत मानेका चलनचल्तीको भाषामा ‘हेभिवेट उम्मेदवार’लाई पराजित गरेर नयाँ इतिहास कायम गर्ने सुअवसरसमेत प्राप्त भएको छ मीना लामालाई । सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादीका मीना निर्वाचित भएकी हुन् । सत्तारुढ गठबन्धनको भागबण्डामा हेटौँडा उपमहानगर एकीकृत समाजवादीको हातमा परेको थियो । निर्वाचन अगाडि कम मत भएको जस्ता टिप्पणी गरिएको थियो ।
गठबन्धनका तर्फबाट इमान्दार प्रयास, व्यवस्थित निर्वाचन परिचालनलगायत कारणले लामाले जित निकाल्न सफल भएकी हुन्। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को सहयोगमा भएको विजयले हेटौँडालाई समृद्ध बनाउने सङ्कल्पलाई पूरा गर्ने विश्वास गरिएको छ ।
उपमहानगरपालिकाको नेतृत्वमा निर्वाचित भएसँगै उनले हेटौँडालाई महिला र बालमैत्री नगर बनाउने प्रतिबद्धता दोहो¥याएकी छन्। उनले उपप्रमुख हुँदा आफूले गर्न नसकेको र गर्नैपर्ने काम अब क्रमशः पूरा गर्दै जाने बताइन् ।
नगरप्रमुख लामाले हेटौँडामा महिला र बालबालिकामैत्री वातावरण बनाउन स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भए पनि पूर्वाधार बनाउन नसकेको बताउँदै अब आफ्नो कार्यकालमा सो काम पूरा गरेरै छाड्ने दाबी गरिन् ।
महिलामैत्री नगर बनाउनका लागि उपयुक्त सार्र्वजनिक शौचालय बनाउने र उक्त शौचालयहरूमा सेनिटरी प्याड भेन्डिङ मेसिन जडान गर्ने र बजार क्षेत्रको विभिन्न स्थानमा स्तनपान कक्ष निर्माण गर्ने उहाँको योजना छ । त्यसका साथै हेटौँडामा महिला नगर परिषद् गठन गर्ने, दलित, बिपन्न, जनजाति तथा पिछडिएका महिलाका लागि सीपमूलक एवं आयआर्जनमुखी कार्यक्रम ल्याउनुका साथै प्राविधिक शिक्षादेखि स्नातक शिक्षासम्म छोरी–बुहारीहरूलाई अनिवार्य अध्ययन गराउनका लागि छात्रबृत्तिको व्यवस्था गरिने जानकारी दिइन्।
सेफहाउसका साथै महिला छात्रावास निर्माण गर्ने योजनासमेत तय गरेको नगरप्रमुख लामाले सुनाइन् । नगरलाई बालमैत्री बनाउँदै घोषणा गर्ने सपना उपप्रमुख हुँदैमा देखेकाले त्यो कार्य पूरा गर्ने उनको भनाइ छ । विपन्न छात्राहरूका लागि स्नाकोत्तरसम्म अध्ययन गराउने त्यसका लागि छात्रावाससमेत बनाउने उनको योजना छ ।
हेटौँडामा प्रसूति र ज्येष्ठ नागरिक अस्पताल
नगरप्रमुख लामाले हेटौँडामा प्रसूति अस्पताल र ज्येष्ठ नागरिक अस्पताल बनाउने योजनासमेत आफ्नो रहेको सुनाइन् । महिलालाई सुरक्षित प्रसूति सेवा दिनका लागि प्रसूति अस्पताल र ज्येष्ठ नागरिकलाई छिटो–छरितो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने योजना पनि आगामी पाँच वर्षमा पूरा हुने उनको भनाइ छ ।
उनले आर्थिक केन्द्रका रूपमा विकसित हुँदै गएको हेटौँडा र त्यहाँका बासिन्दालाई सहज आर्थिकरूपले पनि सम्पन्न बनाउनका लागि विभिन्न कार्यक्रम ल्याएर युवालाई रोजगारी प्रदान गरिने बताइन् । त्यसका साथै घोषणापत्रमा उल्लेख गरिएअनुसारको सबै काम गरिने र सुरुआतीरूपमा विपन्न घरधुरीलाई ३०० युनिट बत्ती र १० हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने र यो सुविधा सबै घरधुरीमा पु¥याइने योजनालाई कार्यान्वयन गरेरै छाडिने जानकारी दिइन् ।
विद्यार्थीदेखि नगरप्रमुखसम्मको यात्रामा लामा
विसं २०४६ बाट विद्यार्थी राजनीति सुरु गरेकी लामाले हेटौँडाको त्रिभुवन माविबाट एसएलसी अध्ययनका साथै मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा एमए गरेकी छन् । हरि खेतान बहुमुखी क्याम्पस वीरगञ्जबाट एलएलबीसम्मको अध्ययन गरेकी लामा मकवानपुरभरि नै लोकप्रिय महिला नेतृत्वका रूपमा स्थापित छिन् ।
पढाइसँगै राजनीतिक जीवनलाई निरन्तरता दिँदै आएकी लामा विसं २०५२ मा एमालेनिकट अनेरास्ववियु मकवानपुरको जिल्ला कोषाध्यक्ष हुँदै २०७१ मा तत्कालीन एमाले मकवानपुरको उपसचिवको जिम्मेवारी सम्हालेकी थिइन् । उनले पार्टीमा विद्यार्थी इञ्चार्जको भूमिकामा रहेर काम गर्नुभएकामा लामा २०७१ मा अखिल नेपाल महिला सङ्घको जिल्ला सचिव भइन् ।
विसं २०७२ मा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको केन्द्रीय सदस्यसमेत भएकी लामा आदिवासी जनजाति जिल्ला समन्वय समिति मकवानपुरको उपाध्यक्ष बनिन् । राजनीतिक क्षेत्रमा क्रियाशील लामा २०७४ को स्थानीय तह चुनावमा हेटौँडा उपमहानगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।
लामासँग बालविकासको क्षेत्रमा १० वर्षसम्म काम गरेको अनुभव छ । आफूले निजी क्षेत्रबाट बालबालिकाको क्षेत्रमा लामो समय काम गरेकाले महिला र बालबालिकाको क्षेत्रमा रहेका समस्यालाई प्रमुखरूपमा समाधान गर्नुपर्छ भन्ने सोच पलाएको उल्लेख गरिन् ।
वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा लामाले २३ हजार ७५ मत प्राप्त गरिन् । अघिल्लोपटक जुन गठबन्धनलाई पराजित गरेर उनी उपप्रमुख बनेकी थिइन् । यसपटक सोही गठबन्धनबाटै प्रमुखमा निर्वाचित भएर नयाँ इतिहाससमेत कायम गरेकी छिन् । विसं २०७४ को निर्वाचनमा लामाले तत्कालीनरूपमा कांग्रेस र माओवादीको गठबन्धनलाई पराजित गरेर उपप्रमुख बनेकी थिइन् । लामाका प्रतिद्वन्द्वी अनन्त पौडेलले २० हजार ९०८ मत प्राप्त गरे । पौडेल संविधानसभा सदस्यसमेत हुन् ।
तत्कालीन एमाले विभाजित हुँदा एकीकृत समाजवादीलाई रोजेकी लामाले कायम गरेको इतिहासलाई मकवानपुरवासीले समेत खुल्ला हृदयले स्वागत गरेको देखिन्छ । यस्तै गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार राजेश बानियाँले ३२ हजार ५९३ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी सुमित्रा काफ्लेले २३ हजार ९०९ मत प्राप्त गरिन् । हेटौंडा उपमहानगरमा कूल ७३ हजार ४१४ मत खसेको थियो ।
उपमहानगरमा कूल एक लाख चार हजार ५१३ मतदाता छन् । विसं २०७४ को निर्वाचनमा प्रमुख–उपप्रमुखसहित १२ वडामा विजयी भएको एमाले यसपटकको निर्वाचनमा नौ वडामा सीमित भएको छ । यसपटक कांग्रेसले आठ, एकीकृत समाजवादी र माओवादी केन्द्रले एक–एक वडामा अध्यक्ष जितेका छन् । उपमहानगरमा १९ वडा छन् ।
सादा जीवनशैली, सबैसँग मिल्न सक्ने विशेष क्षमता, आदिवासी, जनजाति र महिलाको मत आकर्षण गर्न सफल लामा २०३३ मा हेटौँडा उपमहानगरपालिका ११ मा जन्मेकी हुन् । उपमहानगरपालिकामा जनमैत्री सेवा प्रदान गर्ने र समग्र विकासका लागि हेटौँडा विकास प्राधिकरण स्थापना गर्ने उनको योजना आफैँमा महत्वपूर्ण छ ।
आज बिहान विजयी भएको घोषणासँगै हैटौँडामा गठबन्धनका तर्फबाट मतदातालाई धन्यवादसहित विजय र्यालीको आयोजना गरियो । फरेष्ट्री चोकबाट निस्किएको विजय जुलुसले हेटौँडा बजारको परिक्रमा गरेको थियो । विजयी जुलुसमा निर्वाचित नगरप्रमुख लामा, उपप्रमुख बानियाँसहित कांग्रेस बागमती प्रदेश अध्यक्ष इन्द्रबहादुर बानियाँ, बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तान, एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष मुकुन्द न्यौपाने, बागमती प्रदेश सदस्य मुनु सिग्देल, माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी, समाजवादी मकवानपुर इन्चार्ज ललित बस्नेतसहित गठबन्धनका नेता एवं राजनीतिक दलका नेता–कार्यकर्ता, गठबन्धनका निर्वाचित वडाध्यक्ष तथा सदस्यहरूको सहभागिता रहेको थियो ।
हनुमाननगर कंकालिनी नगरपालिकाका निवर्तमान प्रमुख शैलेशकुमार साह जनमत पार्टीका वीरेन्द्र माझीसँग १ सय ६१ मतान्तरले पराजित भए । साह मधेस प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साह ‘रामबाबु’का छोरा हुन् । हनुमाननगर क्षेत्र र पार्टीमा नवलकिशोरको राजनीतिक वर्चस्वकै कारण गत निर्वाचनमा टिकट पाएर प्रमुखमा निर्वाचित भएका थिए ।
त्यस्तै लोसपा वरिष्ठ नेता तथा राष्ट्रियसभा सदस्य शेखरकुमार सिंहका छोरा सतिशकुमार सिंहको तिलाठी कोइलाडी गाउँपालिका पुनः उम्मेदवारी दिए पनि पराजय भोग्नु पर्यो । शेखर कुमार सिंह राजपा उपाध्यक्ष हुँदा सतिश कुमार सिंह गत चुनावमा टिकट पाएर अध्यक्षमा निर्वाचित भएका थिए । यसपटक उनी कांग्रेसका अरुणकुमार मण्डलसँग १ हजार ४ सय ७८ मतले पराजित भएका छन् ।
यसैगरी पूव सभासद् सदरूल मियाँ हकका छोरा हेमायुँ हकले पनि दोहोर्याएर खडक नगरपालिका प्रमुख बन्न सकेनन् । उनी माओवादी केन्द्रका जयप्रकाश चौधरीसँग ८ सय १५ मतान्तरले पराजित भएका छन् ।
राजविराजका निवर्तमान नगर प्रमुख शम्भुप्रसाद यादव पनि अघिल्लै प्रतिद्वन्द्वी जसपाका भीमराज यादवसँग साढे ३ हजार मतान्तरले पराजित भएका छन् । त्यस्तै राजविराज नगरपालिकाका निवर्तमान उपमेयर साधना झाले पुनः उपप्रमुखको इच्छा राखेर लोसपाबाट उम्मेदवारी दिइन् । उनले पनि नराम्ररी पराजित व्यहोर्नुपर्यो ।
यसैगरी सप्तरीको अग्निसाइर कृष्णा संवरण गाउँपालिकाका निवर्तमान अध्यक्ष परशुराम चौधरी पुनः अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । उनी एमालेका उम्मेदवार दिनानाथ चौधरीसँग पराजित भए ।
निवर्तमान गाउँपालिका अध्यक्ष कांग्रेसका परशुराम चौधरीले ३ हजार ८ सय ८८ मत प्राप्त गरी पराजित भए ।
कांग्रेसका परशुराम चौधरी २०७४ को स्थानीय तहको निर्वाचनमा ३ हजार ३ सय ९५ मत ल्याई अध्यक्षमा निर्वाचित भएका थिए। त्यस्तै निवर्तमान उपाध्यक्ष मिना चौधरीले उपाध्यक्षमा पदमा पराजित भोग्नुपरेको छ ।
सप्तकोसी नगरपालिकाको निवर्तमान नगरप्रमुख उत्तम शर्मा पराजित भएका छन् । उनी नेपाली कांग्रसका कृष्ण ढकालसँग पराजित भएका हुन् । ढकालले ४ हजार ४ सय ६९ मत ल्याए भने एमालेका उत्तम शर्माले २ हजार ९ सय ६७ मत मात्र प्राप्त गरे ।
शर्मा २०७४ को स्थानीय तहको निर्वाचनमा ३ हजार ३९ मत ल्याई प्रमुखमा निर्वाचित भएका थिए । सप्तरीको विष्णपुर गाउँपालिका निवर्तमान अध्यक्ष लिलाम्बर यादव पराजित पनि भएका छन् । जसपाका उमेश यादवले ३ हजार १ सय ६४ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएपछि उनी पराजित भएका हुन्। कांग्रेसबाट उम्मेदवारी दिएका निवर्तमान अध्यक्ष लिलाम्बर यादवले २ हजार ८ सय १९ मत मा सीमित भए ।
सप्तरीको राजगढ गाउँपालिकाका निवर्तमान अध्यक्ष परमानन्द यादवले पनि पराजित भएका छन् । एमालेबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका ओमप्रकाश मण्डल विजयी भएका छन् ।
जिल्लाका १८ स्थानीय तह मध्ये १४ स्थानीय तहमा निवर्तमान प्रमुखले नगरपालिकाका अध्यक्ष र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षका लागि पुनः उम्मेदवारी दिए पनि ११ स्थानीय तहका उम्मेदवार पराजय भइसकेका छन्।सप्तरीका एकमात्र बोदेवर्साइन् नगरपालिकाका निवर्तमान अध्यक्ष आतेश सिंह र हनुमाननगर कंकालिनी नगरपालिकाका उपप्रमुख सरिता यादव पुनः निर्वाचित भएका छन् ।







डिसी नेपाल







Facebook Comment