अब चार पालिकाकाे मात्र मतपरिणाम आउन बाँकी

डिसी नेपाल
१२ जेठ २०७९ ७:२२
336
Shares

काठमाडौं। गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ। निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार ७५३ मध्ये ७४९ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ।

मतगणना जारी रहेकामध्ये अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौँ महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको त्रियुगा नगरपालिका, लुम्बिनी प्रदेशमा रुपन्देहीको तिलोत्तमा नगरपालिका रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले जानकारी दिए।

सुदूरपश्चिमको बाजुराको बूढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानविनका आधारमा निर्णय आउन बाँकी रहेको छ।

बिहीबार बिहान ६ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५ महानगर, ११ उपमहानगरसहित ७४९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ। दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ। यस्तै जनता समाजवादी पार्टी चौथो स्थानमा छ भने १ महानगर, १ उपमहानगरसहित २० पालिका जितेको नेकपा एकीकृत समाजवादी पाँचौ स्थानमा छ। लोकतान्त्रिक समाजवादी पार्टीले १६ पालिकामा प्रमुख पद जितेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले समान ४-४ पालिकामा प्रमुख पद जितेका छन्। सिके राउत नेतृत्वको जनमत पार्टीले २ पालिकामा प्रमुख पद जित्दा नेपाल मजदुर किसान पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, जनता प्रगतिशील पार्टी र विवेकशील साझा पार्टीले १-१ पालिकामा प्रमुख पद जितेका छन्। यस्तै स्वतन्त्रबाट उठेका १२ जनाले पालिकामा प्रमुख पद हात पारेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *