अन्तरराष्ट्रिय शान्ति सेना दिवस मनाइयो
काठमाडौं । नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ खटिने शान्ति सैनिकले पु¥याएको योगदानको स्मरण गर्दै आज ‘अन्तरराष्ट्रिय शान्ति सेना दिवस–२०२२’ विशेष कार्यक्रमका साथ मनाएको छ । काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा आयोजित समारोहमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालले विश्व शान्ति स्थापनाकार्यमा खटिएदेखि नै प्रदर्शन गरेको उच्च तहको पेशागत दक्षता एवं समर्पणको प्रशंसा गरे ।
उनले तीनवटै सुरक्षा निकायका शान्ति सैनिकले शान्ति स्थापनाकार्यमा पु¥याएको अतुलनीय योगदानका लागि विगत र हालका नेतृत्वसमेतलाई बधाई दिए ।

प्रधानसेनापति प्रभुराम शर्माले हालका दिनमा शान्ति मिसनमा बढ्दो सुरक्षा जटिलतालाई दृष्टिगत गरी शान्ति सैनिकको पेशागत क्षमता अभिवृद्धि गर्नु आवश्यकता रहेको बताए । उनले संयुक्त राष्ट्र सङ्घको लैङ्गिक समानता रणनीतिप्रति नेपाली सेना प्रतिबद्ध रहेको र भविष्यमा शान्ति मिसनमा महिला सहभागितालाई वृद्धि गर्ने बताए ।
समारोहमा गृहमन्त्री बालकृष्ण खाँणले विश्वशान्ति स्थापनाको सिलसिलामा वीरगती प्राप्त गरेका शान्ति सैनिकको सम्मानमा शान्ति स्मारकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरेका थिए । उनले यस वर्ष शान्ति स्थापनाकार्यमा निःस्वार्थ भावनाले बहादुरीपूर्वक कार्य गरी विशेष योगदान पुर्याएका दुई जनालाई प्रशंसापत्र तथा वीरगती प्राप्त पाँच जना नेपाली शान्ति सैनिकलाई मेडल (तक्मा) सहित सम्मानपत्र प्रदान गरेका थिए । समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त राष्ट्रसङ्घको झण्डोत्तोलन गरेका थिए ।
बलाध्यक्ष रथी सरोजप्रताप राणाले विश्व शान्ति तथा सुरक्षा स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण शान्ति सैनिकले पुर्याएको योगदानको प्रशंसा गरे ।


No ads found for this position

डिसी नेपाल
Facebook Comment