उत्साहजनक विकास भएको छः मुख्यमन्त्री राई
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले यसप्रदेशमा विकासको काम उत्साहजनक भएको बताएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०७९र८०को बजेट तर्जुमा छलफल तथा अन्तरक्रियामा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले महत्वपूर्ण योजनालाई सरकारको सिद्धान्त, प्राथमिकता एवं नीति तथा कार्यक्रममा समावेश हुने विश्वास दिलाए ।
मुख्यमन्त्री राईले बजेट, नीति तथा कार्यक्रम बनाउने सरकार र कर्मचारीको दायित्व मात्र नभएर स्थानीय तहको जनप्रतिनिधि एवं सांसदको जिम्मेवारी भएको उल्लेख गर्दै जनताबाट आउने विकासका योजना नै व्यवहारिक हुने बताए । उनले योजना छनोटमा जनता र सरोकारवालाको रुचाई र रोजाई हुनुपर्ने भन्दै सरकार घाटा बजेट बनाउने दिशामा नरहेको स्पष्ट पारे ।
घाटा बजेट बनाएर आज श्रीलङ्कामा आर्थिक सङ्कट परेको भन्दै मुख्यमन्त्री राईले बजेट निर्माण अघि अझ सरोकारवालसँग घनिभूत छलफल गर्ने बताए । अधिकार र बजेटका लागि प्रदेश सरकारले सङ्घीय सरकारसँग लडाई गर्ने विचार राख्दै उनले भने, “प्रदेशमा सिँचाइ, खानेपानी, पर्यटनजस्ता क्षेत्रमा प्रगति हासिल गरेको छ ।” उनले गलत बाटोबाट योजना नछिर्ने र जनप्रतिनिधिलाई अझ ठोस ढङ्गले योजना ल्याउन सुझाव दिए ।
सङ्घको निजामति कर्मचारी ऐन नआएका कारण प्रदेश सरकारले कर्मचारी भर्ना गर्न समस्या रहेको स्पष्ट पार्दै मुख्यमन्त्री राईले सरकारले बहुवर्षीय र नयाँ योजनामा बजेट विनियोजन नगर्ने समेत बताएका छन् । प्रदेशसभा सदस्य वशन्तीदेवी यादव, शिवनारायण गनगाँई, लिलाबल्लभ अधिकारी आम नागरिकले अनुभूति गर्ने किसिमको बजेट भएमा मात्र सरकारप्रति जनताको विश्वास बढ्ने विचार व्यक्त गरे ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर प्रदेशको राजधानी भए पनि पूर्वाधार विकासमा पछि परेको बताउँदै अबको पाँच वर्षमा विराटनगरले विकासमा छलाङ लगाउने विश्वास दिलाए।
प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले प्राकृति सम्पदा र संस्कृतिले परिपूर्ण यो प्रदेशमा प्रगतिका प्रचुर सम्भावना र अवसर रहेको बताए । आर्थिक मामिला तथा योजना सचिव सुमन दाहालले प्रदेशको वास्तविकतामा रहेर सरकारले बजेट बनाइरहेको धारणा राखे । कार्यक्रममा मोरङका गाउँपालिका र नगरपालिकाका प्रमुख एवं उपप्रमुखले विकासका विविध पक्षमा चर्चा गरेका थिए ।







डिसी नेपाल







Facebook Comment