सम्पर्कविहीन जहाजको खोजी तीव्र बनाउन गृहमन्त्रीको निर्देशन

डिसी नेपाल
१५ जेठ २०७९ १२:३४
52
Shares

काठमाडौँ गृहमन्त्री बालकृष्ण खाणले कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजको खोजीकार्यमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई फोन सम्पर्क गरी जहाजको खोजी कार्यलाई तीव्रता दिन उनले निर्देशन दिएका हुन्।

कास्कीका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान मुस्ताङको लेतेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन बनेको थियो । लेतेबाट धौलागिरि हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकले जनाएका छन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शर्माले गृहमन्त्री खाणको निर्देशनपछि धौलागिरि आसपास पाँच जिल्लाका सुरक्षा अधिकारीलाई अलर्टमा रहन निर्देशन दिएको जानकारी दिए।

जहाजको खोजीकार्यका लागि फिस्टेल एयरको हेलिकप्टर मुस्ताङबाट उडिसकेको उनले जानकारी दिए। काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर पनि उडाउने तयारी भइरहेको कास्कीका प्रजिअ आचार्यले जानकारी दिए।

सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय र दुई जर्मनीका नागरिक गरी १९ यात्रु तथा चालक दलका तीन सदस्य सवार रहेको जनाइएको छ। – रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.