भूकम्पले क्षतिग्रस्त दोलखाको राजकुलेश्वर विद्यालय पुननिर्माणपछि व्यवस्थापन समितिलाई हस्तान्तरण
दोलखा । परोपकारी संस्था हेल्प नेपाल नेटवर्कले भीमेश्वर नगरपालिका वडा. नंं. २, दोलखास्थित राजकुलेश्वर आधारभूत विद्यालयको भैँचालोबाट क्षतिग्रस्त भवन पुनर्निर्माण गरी उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।
भीमेश्वर नगरपालिकाका नवनिर्वाचित मेयर ईश्वरनारायण मानन्धरले विद्यालय भवनको उद्घाटन गरेका हुन् । नेटवर्कका अध्यक्ष अरुणसिंह बस्नेतले विद्यालय परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख मानन्धरको रोहवरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय प्रधान र प्रधानाध्यापक प्रकाश दाहाललाई भवनको साँचो हस्तान्तरण गरे ।
आइतबार दोलखामा आयोजित कार्यक्रममा उद्घान मन्तव्य दिँदै नगर प्रमुख मानन्धरले आफ्नो कार्यकालमा भीमेश्वर नगरपालिकाको सम्पूर्ण विकासमा ध्यान दिने बताए । उनले चुनौति कडा भएपनि शिक्षा, स्वास्थ्यलगायत स्थानीय विकासमा आफू लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमका अतिथि पूर्व मुख्य सचिव तीर्थमान शाक्यले विद्यालय पुनर्निर्माणमा रोटरी क्लब अफ पाटन दरबार स्क्वायरले सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।
हेल्प नेपाल नेटवर्कका संस्थापक अध्यक्ष रवीन्द्र मिश्रले विद्यालयको भवन राम्रो बनेकोमा खुशी लागेको बताउँदै विद्यालयको शैक्षिक वातावरण पनि गुणस्तरीय र उत्कृष्ट हुनुपर्नेमा जोड दिए ।
शिक्षा विकास समन्वय इकाई प्रमुख शंकरबाबु श्रेष्ठले स्थानीय विद्यालयहरूको पठनपाठन स्तरीय बनाउनतर्फ सक्रिय हुने बताए । नेटवर्कका अध्यक्ष अरुणसिंह बस्नेतले कठिन र चुनौतीपूर्ण हुँदाहुँदै पनि यस कार्यलाई सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै यस विद्यालयको पुनर्निर्माणमा नेपाल बाहिर बस्ने धेरै नेपालीहरूको रगत पसिनाको कमाई परेको उल्लेख गरे ।
दोलखा थातथलो भई अमेरिका बस्दै आएका हेल्प नेपाल, अमेरिकी च्याप्टरका अध्यक्ष अभयमानसिंह श्रेष्ठले विद्यालयले अब गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने बताए । उनले आफ्नो सहयोग हमेसा रहने पनि उल्लेख गरे ।
विद्यालय पुनर्निर्माणको समन्वयकर्ता राजहिटी समाजका अध्यक्ष विक्रम मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी आत्मकृष्ण श्रेष्ठ, प्रधानाध्यापक प्रकाश दाहाल, वडा नं. २ का अध्यक्ष स्टालीन श्रेष्ठ, व्यवस्थापन समितिका अध्यक्ष अजय प्रधान, शिवजी प्रधानले पनि बोलेका थिए ।
२०१९ सालमा स्थानीय समाजसेवीहरूको पहलमा स्थापित राजकुलेश्वर आधारभूत विद्यालयको पुरानो भवन २०७२ सालको भैँचालोमा क्षतिग्रस्त भएपछि राजहिटी समाजले हेल्प नेपालसँग समन्वय गरी नमुना भवन निर्माण गरेको हो ।
यस भवनको पुनर्निनिर्माणमा हेल्प नेपाल नेटवर्कसहित रोटरी क्लब अफ पाटन दरबार स्क्वायर, नेप्लीज सोसाइटी अफ टक्सासको मुख्य सहयोग रहेको छ । भवन निर्माणमा ५ करोड ४५ लाख २१ हजार ६३२ रुपैयाँ खर्च भएको राजहिटी समाजले जानकारी गराएको छ ।
भूकम्प अघिसम्म चार सय विद्यार्थी रहेको विद्यालयमा अहिले १ सय ११ विद्यार्थी रहेको र विद्यार्थी थप्ने विषयमा सरोकारवालाहरूसँग छलफल भइरहेको प्रधानाध्यापक प्रकाश दाहालले बाह्रखरीलाई बताए । पुनर्निर्मित भवनमा सभा हलसहित २३ वटा कोठा रहेको छ ।







डिसी नेपाल








Facebook Comment