मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

डिसी नेपाल
१६ जेठ २०७९ १३:०४
136
Shares

पर्सा। मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका–८ स्थित एक रेष्टुरेण्टमा काम गरी बस्ने २५ वर्षीय सुरज कुमार साह, वीरगंज महानगरपालिका–१६ फुलबारी टोल डेरा गरी बस्ने ३५ वर्षीय हरिचन्द्रनाथ योगी र वीरगंज महानगरपालिका–१६ स्थित कार्की होटलकी सञ्चालिका ४२ वर्षीया लक्ष्मी बुढाथोकी (कार्की) रहेका छन्।

प्रहरीका अनुसार सुरज कुमार साहले जेठ ५ गते काठमाडौं बस्ने २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगन्ज लगेका थिए । वीरगन्जको बसपार्कस्थित एक होटलमा लगि ती युवतीलाई उनले पटकपटक करणी गरेका थिए।

त्यसपछि जेठ ९ गते वीरगन्ज महानगरपालिका–१६ स्थित कार्की होटलकी सञ्चालिका लक्ष्मी बुढाथोकीको जिम्मा लगाई उनी फरार भएका थिए।

जेठ १० गते लक्ष्मी बुढाथोकीले ‘विवाह गर्छ’ भनी झुक्याई हरिचन्द्रनाथ योगीको साथमा युवतीलाई पठाएकी थिइन्। त्यसपछि योगीले पीडितलाई आफ्नो कोठामा लगि मानसिक र शारीरिक यातना दिई पटकपटक जबरजस्ती करणी गरेको अनुसन्धानमा खुलेको छ।

उक्त घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई वीरगन्ज महानगरपालिकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो। उनीहरू उपर जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *