नेपाललाई प्रेस स्वतन्त्रताको अग्रणी मुलुकमा विकसित गर्न चाहन्छौँः मन्त्री कार्की

डिसी नेपाल
१६ जेठ २०७९ २२:०५
32
Shares

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई दक्षिण एसियामै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भएको अग्रणी मुलुकका रुपमा विकसित गर्न चाहेको बताएका छन् ।

नेपाल टेलिभिजनको ३७औँ वार्षिकोत्सवका अवसरमा घोषित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा आज उनले त्यसका लागि सरोकारवाला सबैले अग्रसरता लिनुपर्ने र सबैको सहयोगको अपेक्षासमेत गरे। मन्त्री कार्कीले नेपाल टेलिभिजन सधैँ पहिलो रोजाइको टिभीका रुपमा स्थापित हुनुपर्ने बताउँदै त्यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालयले सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरे । साथै उनले सञ्चार जगतमा प्रतिस्पर्धा छ भन्ने कुरालाई विचार गरी खरो उत्रिन सकोस् भनी शुभकामना व्यक्त गरे ।

नेपाल टिभीले सबै जातजाति र भाषाभाषीको आवाज सबै भूभागबाट बोल्नुपर्ने बताउँदै उनले त्यसका लागि सरकारको सहयोग, समर्थन र संरक्षण रहेको उल्लेख गरे । मन्त्री कार्कीले सबैको साझा प्रयत्न र त्यागबाट मुलुकमा विशिष्ट राजनीतिक पद्धति प्राप्त भएको उल्लेख गर्दै यसलाई संरक्षण गरी संस्थागत प्रवद्र्धनमा सबै जुट्नुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा नेपाल टिभीका कार्यकारी अध्यक्ष समिरजङ्ग शाहले टिभीको श्रीवृद्धि र विकास तथा कर्मचारी र पत्रकारको वृत्ति विकासका लागि आफू सदैव लागिरहने उल्लेख गर्दै यसको विकल्प नभएको बताए । नेपाल टिभीका महाप्रबन्धक फूलमान बल तामाङले कोभिडका कारण यसअघि माघ १७ गते वार्षिकोत्सव कार्यक्रम भौतिक रुपमा मनाउन नसकिएकाले आज विशेष कार्यक्रम गरी मनाइएको अवगत गराए ।

नेपाल टिभीलाई बढी विज्ञापन उपलब्ध गराउने सरकारी तथा निजी संस्थालाई सम्मान गरिएको थियो भने नेपाल टिभीमा ३० र २० वर्षसम्म निरन्तर काम गरेका कर्मचारी तथा पत्रकारलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.