महोत्तरीमा जिल्ला समन्वय समिति गठनमा जसपा-कांग्रेस तालमेलको सम्भावना

डिसी नेपाल
२१ जेठ २०७९ ९:०४
36
Shares

महोत्तरी। महोत्तरीमा स्थानीय तहको निर्वाचनले गाउँपालिका र नगरपालिकामा नेतृत्व चयन गरेसँगै अब जिल्ला समन्वय समिति निर्वाचनको रस्साकस्सी सुरु भएको छ। जिल्ला समन्वय समिति गठनका लागि स्थानीय तहमा बहुमत ल्याएका दलहरू कसरी बहुमत ल्याउने भन्ने अभ्यासमा जुटेका छन्।

महोत्तरीमा कुनै दलको एकल बहुमत पुग्ने अवस्था छैन। जिल्लामा १५ वटा पालिका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षको गरी ३० जना मतदाता छन्। स्थानीय तह निर्वाचन ऐन २०७३ र नियमावली २०७३ अनुसार गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षबाहेकका मतदाता हुँदैनन्।

निर्वाचित जनप्रतिनिधिहरूको अंकगणितको आधारमा जनता समाजवादी पार्टी (जसपा) जिल्लामा सबैभन्दा ठूलो दल हो। जसपाका पाँच जना प्रमुख र छ जना उपप्रमुख छन्। त्यस्तै, दोस्रो दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पाँच जना प्रमुख र तीन जना उपप्रमुख छन्।

नेपाली कांग्रेसले दुई प्रमुख, चार उपप्रमुख, नेकपा एमालेले एक प्रमुख, एक उपप्रमुख, तराई मधेस लोकताlन्त्रक पार्टी (तमलोपा)ले एक प्रमुख जित्दा एक जना स्वतन्त्र प्रमुख र एक जना उपप्रमुख रहेका छन्।

पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले जिल्ला समन्वय समिति गठनमा पनि तालमेल गर्ने निर्णय गरेका छन्। सोहीअनुसार दलहरूबीच गठबन्धनको चर्चाले अहिले महोत्तरीको राजनीतिक माहोल तातेको छ।

समन्वय समिति प्रमुख र उपप्रमुखसहित नौं सदस्यीय हुन्छ। समितिमा तीन सदस्य महिला अनिवार्य हुने व्यवस्था छ। अन्य पाँच सदस्य गाउँपालिका र नगरपालिकाबाट निर्वाचित सदस्यमध्येबाट हुनेछन्। उनीहरू जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखजस्तै गरी निर्वाचित हुनुपर्ने ऐनमा व्यवस्था छ।

जिल्ला समन्वय समिति गठन भएपछि जिल्लासभा गठन हुनेछ। जिल्ला सभाको प्रमुख र उपप्रमुखमा जिल्ला समन्वय समितिकै प्रमुख र उपप्रमुख हुनेछन् भने गाउँपालिका र नगरका प्रमुख उपप्रमुखहरू पदेन सदस्य हुनेछन्।

महोत्तरीमा जिल्ला समन्वय समिति गठन गर्न बहुमत १६ जना आवश्यक हुन्छ। ठूलो दलको हैसियतले जसपाले लोसपा र कांग्रेसमध्ये एक दलसँग तालमेल गर्दा बहुमत पुग्छ। तर, जसपा लोसपासँग भन्दा पनि कांग्रेससँग नजिक छ। दुई दलबीच तालमेल हुँदा सामान्य बहुमत १६ भए पनि १७ मत हुने देखिएको छ। यसअघि बल्वा नगरपालिकाको कार्यपालिका निर्वाचनमा पनि जसपा-कांग्रेस तालमेल भएको थियो।

जसपा महोत्तरी अध्यक्ष रामबाबु यादव समन्वय समितिका लागि तालमेल कांग्रेससँगै हुन सक्ने बताउँछन्। तर, जलेश्वर नगरपालिकाको कार्यपालिका निर्वाचन हुन भने बाँकी छ । जिल्ला निर्वाचन कार्यालयले जनाएअनुसार त्यहाँ आज निर्वाचन हुने भएको छ ।

‘हामी आजभोलि नै सूचना प्रकाशन गरेर तयारीमा लाग्छौँ । सम्बन्धित जनप्रतिनिधिलाई कार्य क्षेत्र नछाड्न पनि भनेका छौँ’, कार्यालय प्रमुख सुबोध महतोले  भने ।

निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले शपथ ग्रहण गरेसँगै जिल्ला समन्वय समिति गठन प्रक्रिया सुरु हुनेछ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समिति निर्वाचनका लागि सूचना प्रकाशित गर्ने व्यवस्था रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.