गठबन्धन नटुट्नेमा कांग्रेस ढुक्क !

सम्भव सिंह ठकुरी
२२ जेठ २०७९ १२:२०

काठमाडौं। गत महिना भएको स्थानीय चुनावको मिति नजिकिदा समेत सत्तारुढ दल नेपाली कांग्रेस भित्र चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा चर्को विवाद, बहस र अन्यौलता भएको थियो।

प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा कुनै पनि हालतमा गठबन्धन गर्ने पक्षमा हुँदा १४ औँ महाधिवेशनमा सभापतिका प्रत्यासी डा.शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापासहित संस्थापन इतरका नेता र संस्थापन पक्षकै केही नेताहरु गठबन्धन नगर्ने र कांग्रेस एक्लै चुनावमा जानुपर्ने मत राखेका थिए।

तर अन्ततः सभापति देउवाले गठबन्धन गरेरै जाने अडान कायम राखेपछि पार्टीको केन्द्रीय कार्यसमितिको बहुमत सदस्य पनि चुनावी गठबन्धनकै पक्षमा देखिए र सोही अनुसारकोे निर्णय भयो।

तर चुनाव सकिएको एक महिना नबित्दै फेरि सत्ता गठबन्धनमा अर्को तरंग आयो। बुधबार काठमाडौँमा आयोजित नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसको एमालेको जस्तै दम्भ बढेकाले एमालेलाई जस्तै ठेगान लगाउने चेतावनी दिए।

दाहालले संघ र प्रदेशको चुनाव आउनै लाग्दा कांग्रेसमा दम्भ देखिने आशंका बढेको बताएका थिए। स्थानीय तहको चुनावपछि एमालेसँग फेरि माओवादीको सहकार्य हुने चर्चा सुरु भएका बेला दाहालले कांग्रेसलाई अहंकार देखाए ठेगान लगाउने चेतावनी दिएपछि गठबन्धनप्रति विभिन्न शंका उपशंका उत्पन्न भएको छ।

तर प्रचण्डको यो अभिव्यक्तिले गठबन्धनमा कुनै पनि दरार नआएको र प्रचण्डको सो अभिव्यक्तिको आशय भन्दा फरक ढंगबाट बाहिर अतिरञ्जित गरिएको प्रचण्ड निकट माओवादी नेताहरुको भनाइ छ।

गत महिना चितवनमा भएको चुनावी सभामा कांग्रेससँगको गठबन्धन अझै १० वर्षसम्म निरन्तर रहने भनेर भाषण गरेका प्रचण्डले चुनाव सक्किन साथ किन कांग्रेसलाई नै ठेगान लाउने भए त? यो प्रश्न निकै पेचिलो र शंकाको विषय बनेको छ।

हुन त प्रचण्डको अभिब्यक्तिहरु पहिला देखि नै निकै चिप्लिने र नफेरिएको भने होइन। भन्नेहरु प्रचण्डलाई अस्थिर र स्वार्थ केन्द्रित राजनीज्ञ पनि भन्छन् तर उनी आफूलाई गतिशील भन्न रुचाउँछन्।

२०७४ को स्थानीय तहको निर्वाचनमा पनि चितवन कै चुनावी सभामा प्रचण्डले कांग्रेससँगको गठबन्धन १० वर्ष टिक्ने भन्दै कांग्रेस-माओवादीको गठबन्धनबाट भतरपुरको मेयरको उम्मेदवारी रहेकी छोरी रेनु दाहालको लागि मत मागेका थिए। तर संघ र प्रदेशको निर्वाचनमा एमालेसँग गठबन्धन र पार्टी एकतासहित कांग्रेससँगको यात्रा टुटाएका थिए।

त्यो राजनीतिक घटनालाई कांग्रेसले धोका भएको बताएको थियो। तर अहिले पुनः दाहालको योे अभिव्यक्तिले नेपालको राजनीतिले नयाँ मोड लिने त हैन? भन्ने प्रश्न उब्जिाएको छ।

तर दाहालको यो अभिव्यक्तिले कांग्रेसलाई कुनै समस्या नपर्ने र बरु दाहालको पार्टीले अपेक्षा गरेभन्दा धेरै स्थानीय तहमा जित निकालेपछि दाहाल नै केही उत्साहित भएर बोलेको कांग्रेस नेताहरुको बुझाइ छ।

कांग्रेस उपसभापति धनराज गुरुङपनि दाहालको सो भनाइले कांग्रेसलाई कुनै असर नगर्ने बताउँछन्। ‘प्रचण्डजीले कांग्रेसप्रति के बोल्नु भयो, त्यो पक्षमा धेरै बोल्न चाहन्न। तर उहाँको चेतावनीले कांग्रेसलाई केही फरक पार्दैन।  हिजो देशको निरकुंश शासन व्यवस्था विरुद्ध कठोर संघर्ष गर्दा त कांग्रेस कसैको धम्की,कसैको प्रलोभनमा नपरि आजसम्म यहाँ आएका आएको छ। अहिले प्रचण्डजीले त्यसो भन्दैमा किन आत्तिनु र?’, गुरुङले भने।

संसदीय र प्रदेश निर्वाचनमा कांग्रेस र माओवादीको गठबन्धन हुन्छ कि हुँदैन? भन्ने डिसी नेपालको प्रश्नमा गुरुङले भने, ‘स्थानीय निर्वाचनको मत परिणाम भर्खरै सकिएको छ। हामी छलफल गर्छौँ बैठक बस्छौँ अनि नयाँ कुरा बोल्छौँ। हाम्रो पार्टी लोकतान्त्रिक भएकाले फरक बिचार, फरक मत आइरन्छ। तर त्यो फरक मतलाई पनि सम्मान गर्दै बहुमतको निर्णयलाई स्वीकार गर्नु हाम्रो दायित्व रहन्छ। अहिले गठबन्धन हुन्छ-हुँदैन भनेर बोल्न हतार हुन्छ।’

गुरुङ स्थानीय निकाय निर्वाचन अगाडि माओवादी लगायत बिचार नमिल्ने पार्टीसँग गठबन्धन नगरी कांग्रेस एक्लै चुनावमा जानुपर्ने अडान लिएका नेता मध्ये एक हुन्।

केही सार्वजनिक कार्यक्रममा समेत गुरुङले कांग्रेसलाई हात्ती र माओवादीलाई चमेरोको संज्ञा दिँदै हात्तीको कानमा चमेरोले फोहोर गरेको अभिब्यक्ति दिएका थिए।

तर लगत्तै गुरुङको भनाईलाई खण्डन गर्दै प्रचण्डले कांग्रेसले आफूहरुलाई अपमान गरेको बताएका थिए। कांग्रेसका अर्का नेता एनपी साउद पनि दाहालको भनाईले गठबन्धनलाई कुनै असर नपरेको बताउँछन्। गठबन्धनको विषयमा शीर्ष नेताहरुबीच एक खालको समझदारी भइसकेकाले आगामी संघ र प्रदेशको निर्वाचनसम्म नै निरन्तर रहने साउदको भनाइ छ।

‘प्रचण्डजीले आफ्नो कार्यकर्ता उत्साहित पार्न र कांग्रेससँग आगामी निर्वाचनमा केही धेरै सिट संख्या थप गर्ने प्रयत्नले दवाब दिने रणनीति हुनसक्छ। तर यही कारणले गठबन्धन टुटुन लाग्यो भन्ने कुराहरु चाँही भ्रम मात्र हुन्,’ साउदले भने।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *