रूसी तेलमा प्रतिबन्ध लगाएको अमेरिकाले आफैं तेल संकटमा परेपछि गर्‍यो विवादित निर्णय

डिसी नेपाल
२६ जेठ २०७९ ११:१७
11.8k
Shares

काठमाडौं । रुस–युक्रेन युद्धका कारण विश्वव्यापी तेल संकटको बीचमा अमेरिकी निर्णयमाथि प्रश्न उठेको छ । युक्रेनमा रुसले आक्रमण गरेपछि अमेरिका र धेरै पश्चिमी देशले रुसमाथि प्रतिबन्ध लगाएका थिए । जसमा रुसको तेल बहिष्कार पनि समावेश थियो तर अब तेल संकटको सामना गरिरहेको अमेरिकाले निकै विवादित निर्णय गरेको छ ।

स्रोतका अनुसार भेनेजुएलाको तेल युरोपमा बेच्न अमेरिकाले बाटो खोलिदिएको छ । यसका लागि उसले भेनेजुएलामाथि लगाइएका सबै प्रतिबन्धहरू अन्त्य गर्न सक्नेछ। अमेरिकाको यो निर्णयसँगै उसको दोहोरो मापदण्डमाथि प्रश्न उठिरहेको छ । एकातिर उसले रुसी तेल आयात गर्न भारत र चीनलाई दबाब दिइरहेको छ ।

अर्कोतर्फ देशमा तेलको आपूर्तिका लागि त्यही भेनेजुएलाबाट तेल किन्दैछ जसमाथि उसले आफैंले सबै प्रकारका प्रतिबन्ध लगाएको थियो । भेनेजुएलामाथि अमेरिकी प्रतिबन्धका कारण भेनेजुएलाको तेल युरोपमा बिक्री हुन सकेको छैन ।

रोयटर्सको रिपोर्टका अनुसार अब भने इटाली र स्पेनका तेल कम्पनीहरूले भेनेजुएलाबाट तेल किन्न सक्छन्। इटालियन र स्पेनी तेल कम्पनीहरू एनी एसपीए र रेपसोल एसएले अर्को महिना भेनेजुएलाको तेल युरोपमा ढुवानी गर्न सक्नेछन्।

अमेरिकाको बाइडेन सरकारले गत महिना यसलाई अनुमोदन गरेको थियो। स्रोतका अनुसार भेनेजुएलाको तेल युरोपमा बेचिनेछ। यसलाई अन्यत्र बेच्न सकिँदैन।

यद्यपि, तेल कम्पनीहरू एनी र रेपसोललाई उपलब्ध तेलको मात्रा कम हुन सक्छ। यसले विश्वभर तेलको मूल्यमा पनि थोरै प्रभाव पार्नेछ। रिपोर्टका अनुसार बाइडेन सरकारले रुसको तेलमाथिको निर्भरता घटाउन भेनेजुएलाको तेल प्रयोग गर्न स्वीकृति दिएको थियो।

अमेरिकाको १८ प्रोग्रेसिभ हाउस डेमोक्र्याटहरूले मेमा बाइडेनलाई भेनेजुएलामाथिका सबै प्रतिबन्धहरू हटाउन आग्रह गर्दै पत्र लेखेका थिए। उनीहरूले भेनेजुएलामाथि लगाइएका ती सबै प्रतिबन्ध हटाउनु पर्ने बताएका थिए जसले देशको मानवीय अवस्थालाई बिगार्छन् ।

अमेरिकाले भेनेजुएलामाथि धेरै प्रकारका प्रतिबन्ध लगाएको छ । जसमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले मानवअधिकार उल्लङ्घन गरेको आरोपमा लगाइएको प्रतिबन्ध पनि छ ।

अमेरिकी सांसदहरूले यस वर्षको सुरुमा भेनेजुएलामाथिको प्रतिबन्ध हटाउने र यसको तेल खरिद गर्ने उद्देशयले भएको वार्ताको आलोचना गरेका थिए।

अमेरिकी सिनेटको विदेश सम्बन्ध समितिका अध्यक्ष सिनेटर बब मेनेन्डेजले भेनेजुएलाको तेल किन्न मादुरोसँगको सम्झौताले निरन्तर मानवीय संकटको खतरा रहेको बताए। यसले ल्याटिन अमेरिका र क्यारिबियनमा सम्पूर्ण पुस्तालाई अस्थिर बनाएको उनले बताए।

टेनेसीका रिपब्लिकन सांसद मार्क ग्रीनले इरान वा भेनेजुएलाबाट तेल किन्ने विचार स्तब्ध पार्ने खालको भएको बताए।

ग्रीनले भने, ‘हामीले अमेरिकाको प्राकृतिक स्रोतको फाइदा उठाएर ऊर्जामा आत्मनिर्भर बन्नुपर्थ्यो । अहिले विश्वभर अधिनायकवाद र निरंकुशताको अन्त्य गर्ने बेला आएको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *