मन्त्री आलेद्वारा प्रसिद्ध शक्तिपीठ बडिकेदारको पदमार्ग शिलान्यास

डिसी नेपाल
४ असार २०७९ २१:३६

डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज प्रसिद्ध शक्तिपीठ बडिकेदारको पदमार्ग शिलान्यास गरेका छन् । उनले जिल्लाको दक्षिण भेगमा अवस्थित प्रसिद्ध शक्तिपीठ एवं धार्मिक पर्यटकीयस्थल बडिकेदारमा तीर्थयात्रीका लागि पदमार्ग तथा पूर्वाधार योजनाको शिलान्यास गरेका हुन् ।

उक्त पदमार्ग निर्माणका लागि मन्त्री आलेले रु नौ करोड रकम विनियोजन गरेसँगै आज शिलान्यास गरेको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्रराज सिराडीले जानकारी दिए । उनका अनुसार उक्त पदमार्गमा विश्रामस्थल, सिँढी तथा रेलिङ निर्माण गरिने छ । भक्तजन तथा दर्शनार्थीहरूको सहजताका लागि सो क्षेत्रमा पदमार्ग निर्माण गरिन लागिएको हो ।

बोगटान क्षेत्रको जङ्गलमा अवस्थित उक्त शक्तिपीठमा भक्तजनले मनले चिताएका काम पूर्ण हुने भएकाले बडिकेदारमा स्वदेश तथा छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थी आउने गरेको भनाइ छ । प्रत्येक वर्षको मङ्सिरमा उक्त ठाउँमा मेला लाग्ने गर्दछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *