नीजि संस्थाले हकभोग गरेको अर्बौको जग्गा भरतपुर महानगरको स्वामित्वमा

डिसी नेपाल
९ असार २०७९ २१:०१
644
Shares

चितवन । एक निजी संस्थाले हकभोग गर्दै आएको अर्बौ रुपैयाँ पर्ने जग्गा भरतपुर महानगरपालिकाले आफ्नो स्वामित्वमा ल्याएको छ । पूर्व–पश्चिम राजमार्गसँग जोडिएको भरतपुरको मुख्य शहरमा रहेको एक बिघा १५ धुर जग्गा महानगरले आफ्नो स्वामित्वमा ल्याएको हो ।

नेपाल नेत्रज्योती संघले हकभोग गर्दै आएको भरतपुर ओरालोबाट उत्तरतर्फको कुल एक बिघा सात कठ्ठा १५ धुर जग्गामध्ये संघलाई सात कठ्ठा छाडेर बाँकी जग्गा भरतपुर महानगरपालिकाले आफ्नो स्वामित्वमा लिने विषयमा बिहीबार महानगर र संघबीच सहमति भएको हो । सहमति पत्रमा महानगर प्रमुख रेनु दाहाल र संघका सभापति कृष्णराज धरेलले हस्ताक्षर गरेका छन् ।

‘वर्षौँदेखि निजी संस्थाले हकभोग गर्दै आएको जग्गा स्थानीय सरकारको स्वामित्वमा ल्याउनु महत्वपूर्ण उपलब्धि भएको ठान्छु’, दाहालले भनिन् । उक्त जग्गालाई आवश्यकता अनुसार प्रयोग गरिने उनले बताइन् ।

युनाइटेड स्टेट अफ अमेरिका एजेन्सी फर इन्टरनेशनल डिभलपमेन्ट मिसन टु नेपाल ९यूएसएड०को नाममा फिल्ड बुक दर्ता कायम रहेको उक्त जग्गा संघले २०४६ पुस २६ गतेदेखि हकभोग गर्दै आएको थियो । एक बिघा सात कठ्ठा १५ धुरजग्गामध्ये सात कठ्ठामा संघले सञ्चालन गरेको भरतपुर आँखा अस्पताल चिजकुमार, विष्णुकुमारी श्रेष्ठ बहिरंग सेवा विभागको भवन रहेको छ ।

बाँकी जग्गामा एक व्यवसायीले जंगल आइल्याण्ड होटल सञ्चालन गरेका थिए । जग्गा भाडा सम्झौता अवधि सकिएपछि संघले होटलसँगको सम्झौता रद्द गरेको छ । हाल होटलभित्रका संरचना र रुख कटानको काम भइरहेको छ । अस्पतालको भवन रहेको जग्गा संघको नाममा दर्ता गर्ने र कुनै कारणले दर्ता हुन नसके संघले नै आफ्नो परियोजना सञ्चालन गर्न पाउने कुरामा महानगरले मञ्जुरी दिएको छ ।

त्यस्तै, अस्पतालले बनाउन लागेको अर्को भवनको लागि महानगरले स्रोत व्यवस्थापन गरिदिने र भवनको नक्सा पास गर्दा लाग्ने दस्तुर मिनाहा गरिदिनेगरी संघ र महानगरबीच बिहीबार सहमति भएको हो ।

सहमति भएसँगै महानगरले आफ्नो स्वामित्वमा ल्याउन जग्गाको लालपुर्जा महानगरको नाममा बनाउनुपर्ने छ । अब लालपुर्जा बनाउने प्रक्रिया अघि बढ्ने महानगरका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदीले जानकारी दिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.