अमेरिका पुगेर शान्ताले भनिन्-हाम्रा नेता विदेशबाट सिकेर फर्केपछि किन केही गर्दैनन्?

डिसी नेपाल
१० असार २०७९ ८:३०

बाल्टिमोर। अमेरिकाको भ्रमणमा आएकी नेकपा एमाले संसदीय दलकी सचेतक तथा पोलिटव्युरो सदस्य शान्ता चौधरीले नेपालका नेताहरु विदेश भ्रमणमा जाने तर त्यहाँका विकासका कुरा सिकेर जाने नगरेकोमा आश्चर्य व्यक्त गरेकी छन्।

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा प्रवासी नेपाली मन्चका प्रतिनिधिहरुसँगको भेटमा उनले सो कुरा बताएकी हुन्। उनले अमेरिकाका विभिन्न शहरहरु घुम्दा आफूले देखेका कुराहरु उल्लेख गर्दै नेपालबाट प्रशस्तै नेताहरु अमेरिका, युरोपलगायतका विकसित देशहरुमा भ्रमणमा जाने तर त्यहाँको विकासबाट सिकेर नेपालमा लागू गर्न नसकेकोमा आफू अचम्मित हुने गरेको बताइन्।

उनले आफू अफ्रिकी मुलुकको भ्रमणमा संविधानसभा सदस्य हुँदा गएको र त्यहाँ वन्यजन्तुको संरक्षणका सन्दर्भमा मानवीय सम्पत्तिको नोक्सानीबाट जोगाउन प्रयोग गरिएको विधिबारे सिकेर नेपाल गई संसदीय समितिमार्फत सरकारलाई निर्देशन पठाएको प्रसंग पनि सुनाएकी थिइन्।

२०६३ सालमा कमलरी मुक्त भएपछि नेकपा एमालेको तर्फबाट संविधानसभा सदस्य बनेको प्रसंग उल्लेख गर्दै उनले नपढेको भएर आफूलाई औंठा छाप सभासद् भन्दै हेला गरेकोमा दुखेसोसमेत गरिन्।

उनले इच्छाशक्तिका कारण आफूले त्यसपछि विद्यालय भर्ना भई औपचारिक शिक्षा हासिल गरेको बताउँदै मुलुक विगार्नमा पढेकै मानिसहरु बढी दोषी रहेको आरोपसमेत लगाइन्। ‘नेता, कर्मचारीहरु पढेलेखेकै हुनुहुन्छ, पढेकाले मुलुक सपार्नु पर्नेमा उहाँहरुले त्यसो गर्नु भएको छैन’ उनले भनिन्।

आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि भने मुलुकले विकासको गति लिएको दावी गर्दै उनले अमेरिकामा सिकेको ज्ञान सिप नेपालका लागि प्रयोग गर्न उनले अमेरिकावासी नेपालीहरुलाई आग्रहसमेत गरिन्।

कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री तथा चीनका लागि पूर्वराजदूत महेन्द्र पाण्डेले सोही कार्यक्रममा बोल्दै नेपाल र चीनको प्रतिव्यक्ति आय ४० बर्षअघि समान भएको तर अहिले चीनले विकासमा फड्को मार्दै शक्तिशाली मुलुक बनेको बताए।

उनले विदेशमा रहेका चीनियां नागरिकहरुलाई समेत उचित बातावरण दिएर चीन फर्काएको र उनीहरुको ज्ञान सिपसमेत प्रयोग गरेर चीनको विकासमा लगाएको सन्दर्भ उल्लेख गर्दै नेपालले पनि त्यसो गर्न सके विकासको गति अघि बढ्ने धारणा राखेका थिए। बाल्टिमोरको हिमालय हाउस रेष्टुरामा मन्चको अमेरिका कमिटीका पूर्वअध्यक्ष प्रभु थापाको संयोजनमा सो कार्यक्रम भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *