बलात्कार गर्न नसकेपछि १५ वर्षीया किशोरीलाई जिउँदै जलाइयो

डिसी नेपाल
११ असार २०७९ १०:२४
1.4k
Shares

काठमाडौं । बिहारको सीतामढी जिल्लामा १५ वर्षीया किशोरीलाई बलात्कारको प्रयास असफल भएपछि पेट्रोल छर्केर जलाएको घटना सार्वजनिक भएको छ । ४० प्रतिशतसम्म जलिसकेकी किशोरीको हाल मुजफ्फरपुरको अस्पतालमा उपचार भइरहेको छ ।

यो घटना सीतामढीको पुपरी थाना क्षेत्रको हो। प्रहरी चौकी इन्चार्ज विजय कुमारले बीबीसीलाई भने, “घटना जुन १९ मा दिउँसो १ बजेतिर भएको हो। पीडितको भनाइअनुसार एक व्यक्तिले उनीसँग नजिक आएर बलात्कार गर्ने प्रयास गरे। बलात्कार प्रयास असफल भएपछि ती व्यक्तिले शरीरमा पेट्रोल छर्केर आगो लगाए। कारबाही गर्दै प्रहरीले आरोपीलाई न्यायिक हिरासतमा पठाएको छ। यस मामिलामा पोक्सो ऐन लगाइएको छ।’

पीडित परिवार खेतीपाती गर्छन् । उनका दाजुले स्थानीय मिडियालाई भिडियो अन्तर्वार्तामा भने, “बहिनी बिहान करिब १० बजे पापाको खानाको लागि खेतमा गएकी थिइन्। पापा खाना खाएर औषधि लिन अस्पताल जानुभएको थियो। यसैबीच करिब १२.४५ बजे त्यो केटा आयो, उनलाई बलात्कार गर्न खोज्यो र आगो लगायो । गाउँलेहरूले खबर गरेका थियौं। पछि बहिनीलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। हामीलाई बाँच्छिन् भन्ने लाग्दैन।”

अभियुक्तको अर्को पनि सहयोगी रहेको स्थानीय सञ्चारमाध्यमले लेखेपनि स्थानीय प्रहरी चौकीले बीबीसीसँगको कुराकानीमा भने उल्लेख गरेको छैन । स्थानीय पत्रकार मोना पटेलले बीबीसीसँगको कुराकानीमा भनिन्–पीडित अहिले थोरै मात्र बोल्दै छिन् । त्यसैले यो कुरा स्पष्ट हुन समय लाग्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *