मैनहिया–सम्पत्तिया प्रसारण लाइनः जग्गाको कित्ताकाट रोकिँदा काम प्रभावित

डिसी नेपाल
१२ असार २०७९ १७:१४

बुटवल । मुआब्जा वितरणका लागि जग्गा कित्ताकाट नहुँदा नेपाल र भारतको उत्तर प्रदेश जोड्ने मैनहिया–सम्पत्तिया १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण प्रभावित भएको छ । प्रसारण लाइनमा पर्ने जग्गाको मुआब्जा निर्धारण भइसकेको अवस्थामा जग्गाको कित्ताकाट रोकिँदा आयोजना प्रभावित भएको हो ।

आयोजनाको काम अन्तिम चरणमा पुगेको बेला मुआब्जा वितरण गर्न नपाउँदा काम रोकिएको हो । आयोजनाले टावर स्थापनापछि स्थानीयलाई मुआब्जा वितरण गर्ने सहमति गर्दै काम अगाडि बढाएको थियो ।

रुपन्देहीको मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइन निर्माण यही असारसम्म सक्ने लक्ष्य थियो । तर, जग्गा कित्ताकाट नहुँदा मुआब्जा वितरणमा समस्या भएको छ । जसका कारण आयोजना पछाडि धकेलिने निश्चित भएको आयोजना प्रमुख हरिप्रसाद पाण्डेले बताए ।

जग्गा मुआब्जामा ४० करोड रुपैयाँ खर्च हुने तय भैसकेको छ । जग्गा कित्ताकाट गरी मालपोत कार्यालयले विद्युत प्रसारण लाइन आयोजनाको नाममा पास गरेपछि मुआब्जा वितरण सुरु हुन्छ । ‘तर कित्ताकाट रोकिएपछि मुआब्जा वितरण रोकिएको छ,’ पाण्डेले भने ।

जग्गाको वर्गीकरण र सिफारिससम्बन्धी सरकारको नयाँ निर्देशनले कित्ताकाट गरेर हुने कारोबार ठप्प भएको छ  । नयाँ नियमावलीमा तोकिएको भन्दा कम क्षेत्रफलमा जग्गाको कित्ताकाट गर्न पाइने छैन । जग्गालाई पनि कृषि र गैरकृषि गरी वर्गीकरण गर्नु पर्नेछ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय भूमि आयोग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै चार किल्ला खुलाई कृषि क्षेत्र नतोकेसम्म जग्गाको कारोबार नगर्न निर्देशन दिएको छ । सरकारको यो निर्देशनपछि प्रसारण लाइन आयोजना निर्माणका लागि आवश्यक जग्गा कित्ताकाट गरी मुआब्जा वितरण गर्न नपाउँदा काम अगाडि बढ्ने देखिँदैन ।

मालपोतबाट जग्गाधनी प्रमाणित भएर आएका लालपुर्जाको नाममा मात्रै मुआब्जा वितरण गर्ने व्यवस्था छ । २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ९६ वटा टावरमध्ये ९० वटाको निर्माण भैसकेका छन् । बाँकी ६ वटा टावर खडा गरी प्रसारण लाइनका उपकरण जडान गर्ने बेलामा मुआब्जा वितरणले ढिलाई हुने अवस्था देखिएको पाण्डेले बताए ।

नेपाल र भारत बीचका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको माघ ०७५ मा पोखरामा सम्पन्न छैटौँ बैठकले भारतको उत्तर प्रदेश र नेपालबीच न्यू नौतनुवा–मैनहिया १३२ केभी प्रसारणलाइन निर्माण गर्ने सहमति गरेको थियो । यसपछि कार्तिक ०७६ मा भारतको बैङ्लोरमा सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौँ बैठकले प्रसारण लाइनलाई न्यू नौतनुवा ९सम्पत्तिया,भारत० सबस्टेसनमा जोड्ने निर्णय गरेको थियो ।

करिब ८० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजनामा नेपाल सरकारको लगानी बनिरहेको छ । मैनहिया १३२ केभी सबस्टेसनबाट सुरु प्रसारण लाइन भारतसँगको सीमा विन्दु मर्चवार (श्रीरामपुर) सम्म निर्माण गरिने छ । भारततर्फ लाइन जोड्न सबस्टेसनमा दुई वटा बे र ३-४ वटा टावर निर्माण भएको आयोजनाका प्रमुख पाण्डेले बताए । उक्त कार्यका लागि नेपालले रकम उपलब्ध गराउने र भारतीय पक्षले काम गर्ने सहमति भएको थियो ।

मैनहिया सबस्टेसनदेखि २७ किमि दक्षिण भारतको सम्पत्तियामा भारत सरकारले सबस्टेसन तयार गरिसकेको छ । मैनहिया र सम्पत्तिया सबस्टेसन विद्युत् लाइन जोडिएपछि नेपाल–भारतबीच २०० मेगावाट क्षमताको विद्युत् आयात निर्यात गर्ने बाटो तयार हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *