युक्रेनको लिसिचान्स्कका नागरिकलाई तत्काल शहर छोड्न निर्देशन
काठमाडौं । युक्रेनी अधिकारीहरूले देशको पूर्वी सहर लिसिचान्स्कमा बसोबास गर्ने आफ्ना नागरिकहरूलाई तुरुन्तै सहर छाड्न भनेका छन्। लुहान्स्कका गभर्नर सेर्हे हेइदीले त्यहाँको अवस्था “धेरै कठिन” भएको र त्यहाँको जीवन वास्तविक खतरामा रहेको बताए।
उनले मानिसहरूलाई युक्रेनमा निर्माण गरिएका राहत शिविरहरूमा लगिएको सुनिश्चित गर्न आग्रह गरे। लिसिचान्स्क शहर लुहान्स्क प्रान्तमा अवस्थित छ। रुसी सेनाले हप्ताभरी लगातार बमबारीपछि लिसिचान्स्क नजिकैको अर्को प्रमुख सहर सेभेरोडोनेत्स्क कब्जा गरेको छ।
सेभेरोडोनेत्स्क युक्रेनको बन्दरगाह सहर मारिउपोलपछि रूसी सेनाले कब्जा गरेको दोस्रो ठूलो शहर हो। युक्रेनी सरकारले यस सहरबाट आफ्नो सेना पूर्ण रूपमा फिर्ता लिएको छ । सेभेरोडोनेस्कका मेयर अलेक्ज्याण्डर स्ट्रिकले सहरमा बाँचेकाहरूले आपूर्तिको चरम अभावको सामना गरिरहेको बताए।
अलेक्ज्याण्डर स्ट्रिकले भने, “रुसी सेना सहरमा छ। उनीहरू सहरमा एक किसिमको प्रशासन बनाउन चाहन्छन्। यसका लागि उनीहरूले यहाँ आफ्ना एक जना कमाण्डेन्ट नियुक्त गर्नेछन्। हामीले प्राप्त गरेको जानकारी अनुसार मानवीय अवस्था अत्यन्तै खराब छ। त्यहाँ खाद्यान्नको अभाव छ, भवनको नाममा केही बाँकी नभएकाले मानिसको जीवनयापन निकै गाह्रो छ ।”
बीबीसी युक्रेन संवाददाता जो इनवुड भन्छन् कि गभर्नरले के भनिरहेका छन् भन्न सजिलो छ, तर जनताका लागि यो धेरै गाह्रो छ।
उनी भन्छन्, “रसियाले युक्रेन जाने एक मात्र बाटोमा रहेको यो सहरमा लगातार बमबारी गरिरहेको छ। यो सहर अहिले रुसी आक्रमणको नयाँ केन्द्र बनेको छ। यदि यो रुसी हातमा गयो भने लुहान्स्क प्रान्तमा रुसले कब्जा गर्नेछ र गभर्नर यहाँबाट जानु पर्छ।”
नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले युद्धका लागि तयार गठबन्धन मुलुकका सैनिकको संख्या ४० हजारबाट झण्डै दश गुणा अर्थात् तीन लाख पुर्याउने बताएका छन् । यी सैनिक र हतियारलाई पूर्वी सदस्य राष्ट्रहरूमा तैनाथ गरिनेछ।
स्टोल्टेनबर्गले रुस गठबन्धनको सुरक्षा र मूल्यमान्यताका लागि सबैभन्दा ठूलो र प्रत्यक्ष खतरा बन्दै गएको बताएका छन् । अर्कोतर्फ जर्मनीमा भएको जी–७ शिखर सम्मेलनमा सहभागी नेताहरुले युक्रेनले चाहेको बेलासम्म सहयोग गरिरहने बताएका छन् ।
नेताहरूले युक्रेनलाई सैन्य, आर्थिक र कूटनीतिक रूपमा सहयोग गरिरहने बताए। उनले रुसमाथि कडा प्रतिबन्ध लगाउने वाचा समेत गरेका छन् ।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले यस सम्मेलनमा भाग लिएका थिए। उनले जाडो सुरु हुनुअघि नै यो युद्ध अन्त्य होस् भन्ने चाहेको बताए । उनले जी–७ देशका नेताहरुलाई रुसमाथि दबाब कायम राख्न आग्रह गरेका छन् ।
उनले नेताहरुलाई भारी हतियार र एन्टी एयरक्राफ्ट डिफेन्स सिस्टम उपलब्ध गराउन अपिल गरे । साथै उनले रुसमाथि थप कडा प्रतिबन्ध लगाउनु पर्ने बताए ।







डिसी नेपाल







Facebook Comment