अर्थसचिव मधुकुमार मरासिनी अनिश्चितकालिन बिदामा
काठमाडौं। अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी अनिश्चितकालिन बिदामा बसेका छन्। बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएका बेला अर्थसचिव मरासिनी अनिश्चितकालिन बिदामा बसेका हुन्।
अर्थसचिव मरासिनी सन्चो नभएर बिदामा बसेको मन्त्रालयका प्रवक्ता सहसचिव ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। ‘अर्थसचिवज्यू हिजोसम्म अफिस आउनु भएको हो । हिजै मलाई सन्चो भएन भन्दै हुनुहुन्थ्यो। आज बिदामा बस्नु भएको छ,’ उनले भने, ‘कहिलेसम्म बिदामा बस्नु भएको हो, यो बुझ्न बाँकी छ।’
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहने सीसीटिभी फुटेज माग्दा १३ दिनको मात्र बाँकी रहने र अरु आफैं मेटिँदै जाने मन्त्रालयले जवाफ दिएको थियो। यसपछि सीसीटिभी फुटेज डिलिट गरिएको र यसमा अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोको आशंका गरिएका बेला उनी बिदामा बसेका छन्।







डिसी नेपाल








Facebook Comment