कमल थापालाई फर्काउन र परिआए नेतृत्व समेत दिन लिङ्देनलाई पार्टीभित्रैबाट दबाब

मदन कोइराला
२६ असार २०७९ ११:३५

काठमाडौं। वर्तमान नेतृत्वले पुराना नेतालाई सम्मान गर्न छाडेको, नयाँ पुस्तामा पार्टीको नेतृत्व गएपछि पनि अपेक्षाकृत सुधारका काम हुन नसकेको भन्दै राप्रपाभित्र अन्तुष्टि बढ्न थालेको छ।

असन्तुष्ट पक्षले पार्टीका राप्रपा नेपालका अध्यक्ष कमल थापा र बिबेकशील साझाका नेता रवीन्द्र मिश्रलगायतसँग एकता गर्नुपर्ने भन्दै मोर्चाबन्दी सुरु गरेको छ।

नेता डा. प्रकाशचन्द्र लोहनी पक्षधर नेताहरुले पार्टी सामूहिक नेतृत्वमा जानुपर्ने र समान विचारधारा भएका दल र नेतासँग एकता गर्नुपर्ने भन्दै नेतृत्वलाई दबाव दिन थालेका छन्।

असन्तुष्ट समूहले वर्तमान नेतृत्वको अपरिपक्व अभिव्यक्तिका कारण ठूला दलले राप्रपालाई ‘अछुत’ जस्तो व्यवहार गरेको आरोप लगाएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ‘गाउँ घरतिर नेता जाँदा कुन चोर आएछ’ भन्छन् भन्ने अभिव्यक्ति दिएका थिए।

असन्तुष्ट पक्षले राप्रपाको नेतृत्व नयाँ पुस्तामा पुगेपछि देखिएको उत्साहलाई नेतृत्वले क्सास गर्न नसकेको आरोप लगाएको छ।

असन्तुष्ट पक्षले  कमल थापा र रवीन्द्र मिश्रसँग एकता गरेर सामुहिक नेतृत्वमा जान नेतृत्वलाई दबाव दिने उद्देश्यले अभियान चलाएका छन्।

‘एकता महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको आठ महिनाको अवधिमा देखिने गरि केही पनि उपलब्धी हुन सकेन,’ असन्तुष्ट पक्षका एक नेताले डिसी नेपालसँग भने, ‘स्थानीय चुनावको परिणाम उत्साहजनक भएन। अब संघीय र प्रदेश निर्वाचनमा पनि राप्रपाले एक्लै जित्ने अवस्था छैन।’

विशेष गरी पार्टीका पुराना नेतालाई नेतृत्वले बेवास्ता गरेको आरोप असन्तुष्ट पक्षले लगाएको छ। उनीहरुले कमल थापा र रवीन्द्र मिश्रसँग एकता गरेर सामुहिक नेतृत्वमा जान नेतृत्वलाई दबाव दिने उद्देश्यले अभियान चलाएका छन्।

‘महाधिवेशनमा हामी सबैले राजेन्द्रजीलाई सहयोग गरेकै हो,’ एक नेताले भने, ‘तर चुनाव जितेपछि जुन अपेक्षा उहाँबाट गरिएको थियो, सो अनुसार काम भएन।’ आगामी चुनावमा सबै जसो दलले गठबन्धन गर्ने तर राप्रपासँग गठबन्धन गर्ने दल नै नहुने हो कि भन्ने चिन्ता उब्जिएको असन्तुष्ट पक्षको भनाइ छ।

राप्रपा नेता दिलनाथ गिरीले पार्टीलाई वैकल्पिक शक्तिको रुपमा खडा गर्न समान विचार र सिद्धान्त भएका दलहरुसँग एकता गर्नुको विकल्प नभएको बताए।

‘समान विचार र सिद्धान्त भएका दल र नेतासँग एकीकरण गर्नुपर्छ। कमल थापा र रवीन्द्र मिश्रसँग एकता गरेर आवश्यक परे सामुहिक नेतृत्वमा जान पनि तयार हुनुपर्छ,’ गिरीले भने, ‘आगामी चुनावबाट राप्रपालाई वैकल्पिक शक्तिका रुपमा उभ्याउन सबैले आफ्नो स्थानबाट सहयोग गर्नुपर्छ।’

असन्तुष्ट पक्षमा नेतृत्व डा. प्रकाशचन्द्र लोहनीले गरेका छन्। नेताहरु हरिबहादुर बस्नेत, विक्रम पाण्डे कुन्ती शाहीलगायतले नेतृत्वलाई कमल थापा र रवीन्द्र मिश्रसँग एकता गर्न नेतृत्वलाई दबाव दिइरहेका छन्।

महाधिवेशनमा पराजित भएपछि कमल थापाले निर्मल निवासको हस्तक्षेप भन्दै राप्रपाबाट अलग भएर राप्रपा नेपाल गठन गरेका छन्।

राप्रपा नेपालका प्रचार विभाग प्रमुख सुरेश आचार्यले समान विचारधारा भएका दलहरुबीच एकता हुने विषयलाई स्वभाविक रुपमा लिनुपर्ने बताए। राप्रपाभित्रको असन्तुष्टिका विषय सञ्चारमाध्यम र सम्पर्कसुत्रमार्फत जानकारी पाएको बताउँदै राप्रपा नेपालका प्रवक्तासमेत रहेका आचार्यले रवीन्द्र मिश्रको दलसँग पनि विभिन्न चरणमा एकताका विषयमा छलफल भएको बताए।

तर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने पार्टीभित्र कुनै असन्तुष्टि नरहेको बताएका छन्। ‘पार्टीभित्र कुनै पनि विषयलाई लिएर असन्तुष्टि भएका मेरो जानकारीमा छैन,’ अध्यक्ष लिङ्देनले डिसी नेपालसँग भने, ‘यो विषयमा उहाँहरुसँगै (असन्तुष्ट पक्ष) लाई नै सोध्नु होला।’

नोटः समाचार प्रकाशित भइसके पछाडि डिसी नेपालको सम्पर्कमा आएका राप्रपाका नेता डा.प्रकाशचन्द्र लोहनीले आफूले समाचारमा उल्लेख गरिए जस्तो कुनै गतिबिधि नगरेको र समाचारका बिषयमा आफूसँग सम्पर्क नगरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *