लाम्काने पाठो बन्यो विश्वभरि चर्चित

डिसी नेपाल
२६ असार २०७९ १६:०४
96
Shares

इस्लामाबाद (बीबीसी) । डम्बोबारे धेरैले सुनेका छन्: कार्टुन चलचित्रको यो हात्तीलाई लामो कान भएका कारण साथीहरूले जिस्काउँछन् र उसलाई सर्कसमा क्रूर तरिकाले प्रदर्शन गर्न बाध्य पारिन्छ।

लामो कान भएका कारण चर्चित बन्ने अब डम्बो एक मात्र जनावर रहेन।

पाकिस्तानको कराँचीको पाठो सिम्बाको प्रत्येक कानको लम्बाई २१ इन्च छ।

र समय पनि परिवर्तन भएको छ। सिम्बा ठट्टाको पात्र होइन, सौन्दर्य प्रतियोगिता जितेर र शानको जिन्दगी बिताएर यो पाठो विश्व चर्चित बनेको छ।

सिम्बा पालेका मोहम्मद हसन नारेजोले एएफपीलाई गीनीज बुक अफ वर्ल्ड रेकर्ड्समा हालसम्मकै सबैभन्दा उत्कृष्ट बाख्रोको रूपमा नाम लेखाउन प्रयास गरेको बताएका छन्।

कीर्तिमानको पुस्तकमा सबैभन्दा लामो कान भएको बाख्रोको हालसम्म प्रविष्टि नभएकोले सिम्बाको कान विश्व कीर्तिमान हो वा होइन भन्ने स्पष्ट छैन।

तर जे भए पनि सिम्बाको तस्बिर सोसल मिडियामा प्रख्यात हुन थालेपछि पाकिस्तानमा यो पाठो चर्चित बनेको छ।

तर त्यति लामो कान लिएर जन्मेको पाठोका आफ्नै चुनौतीहरू पनि छन्।

पहिलो चुनौतीले आफ्नै कानमा अल्झिएर लड्ने हो कि भन्ने छ। त्योबाट बचाउन नारेजोले सिम्बाको कानलाई ढाडमा बाँधेर राख्न एउटा पेटी बनाएका छन्।

अर्को तनाव भनेको प्रतिद्वन्द्वी बाख्रा पालकहरू रहेका छन्। अन्यको नराम्रो कार्यबाट बच्न नारेजोले प्रार्थना र परम्परागत विधिहरू गर्ने गरेका छन्।

“खराब नजरबाट बचाउन हामी कुरानको पाठ गर्छौँ,” नारेजोले एएफपीलाई बताए।

तर नारेजोको लक्ष्य भने ठूलो छ। उनी सिम्बालाई हुर्काएर पाकिस्तान विश्वमै अग्रणी बाख्रापालन देश भएको देखाउन चाहन्छन्।

“सिम्बाको पाकिस्तानको नाम विश्वभर सुनिनुपर्छ।”

सिम्बाको कान भने अझै बढिरहेको छ। विगत तीन साताको सिम्बाको कान थप छ सेन्टिमिटर लामो भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *