बढ्दो गर्मीका कारण महोत्तरीमा सर्प दंशका बिरामी बढे
जलेश्वर। लगातारको बढ्दो गर्मीका कारण महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा सर्प दंशका बिरामीको सङ्ख्या बढ्दै गएको छ । जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवं कार्यालय प्रमुख डा.सतिश साहका अनुसार विगतमा कहिलेकाहीँ एक/दुईजना सर्प दंशका बिरामी आउने गरेको यस अस्पतालमा अहिले दैनिक आठदेखि १० जनासम्म आउने गरेका छन् ।
जिल्लामा केही दिनदेखि अधिक गर्मी बढिरहेका कारण सर्प दुलो बाहिर निस्केर खेतबारी, सडक, झाडी, फोहरका डङ्गुर र कच्ची तथा प्लाष्टर बिनाको पक्की घरमा बस्ने सर्वसाधारणलाई टोक्ने गरेको बिरामीको भनाई उद्धृत गर्दै उनले बताए ।विभिन्न ठाउँमा लुकेर बसेका सर्पलाई मानिसले चलाए वा नजानेर पनि छुन गएको खण्डमा टोक्ने गर्दछ । साहले यस अस्पतालमा आउनेमध्ये अघिकांशलाई विषरहित सर्पले टोकेको तथा केही मात्रै विषालु सर्पले टोकेको बिरामी आउने गरेको मेसु साहले जानकारी दिए ।
अहिले महोत्तरीको १० नगरपालिका र पाँच गाउँपालिकाका विभिन्न गाउँठाउँमा सर्पको बिगबिगी देखिएको स्थानीयवासीले बताए । जिल्लाको विभिन्न ठाउँबाट र सीमापारी भारतबाट पनि दर्जनौँ मानिस उपचारका लागि आउने गरेका छन् । जिल्लामा देखापर्ने विषरहित सर्पमा ढोरिया, हरहरालगायत सर्प छन् भने विषालुमा सबैभन्दा बढी करेत र गोमन सर्प पनि देखा परेका छन् ।
विगत दुई सातादेखि जिल्ला अस्पतालमा सर्पले टोकेका बिरामी दैनिक आउने गरेकामा गत साता एक जनाको मृत्यु भएको थियो भने सर्पदंशकै कारण गत साता बर्दिबास नगरपालिकास्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पनि दुई जनाको मृत्यु भएको थियो ।
सर्प दंशका बिरामीलाई लगाइने ‘एन्टिस्नेक भेनम’ नामको सुई आफूहरुसँग प्रर्याप्त रहेको र सर्पले टोकेपछि अस्पतालमा आइसकेका व्यक्तिलाई औषधिकै कारण मृत्युवरण गर्न नदिने मेसु साहले प्रतिवद्धता व्यक्त गरे ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment