अमेरिकाको ओहायोमा ‘नेपाली सेलिब्रेटी’ को भव्य जमघट, इन्ट्राको कार्यक्रम

डिसी नेपाल
२८ साउन २०७९ ११:२४

कोलम्बस, अमेरिका। संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको कोलम्बस शहरमा नेपाली कलाकारहरुको भव्य जमघट देखिएको छ। परोपकारी संस्था इन्ट्रा फाउण्डेसनद्वारा आयोजित दुईटा रियालिटी शो को फाइनलको अवसरमा अमेरिकाका विभिन्न राज्यमा बसोवास गर्ने तथा नेपालबाट पनि सो कार्यक्रममा भाग लिनकै लागि भनेर आएका नेपाली कलाकारहरु कोलम्बसमा जम्मा भएका हुन्।

फाउण्डेसनले प्रवासी नेपाली भाषीहरुका लागि मेरो भ्वाइस कप र मेरो डान्स कप रियालिटी शो गर्दै आएको छ र यी दुबै रियालिटी शो हरुको फाइनल अगस्ट १३ तारिक शनिवार आयोजना गरिएको छ । कार्यक्रम ओहायोको अत्यन्त भव्य मानिएको सभाहलमा आयोजना गरिएको छ।

नेपालका प्रख्यात संगीतकार शम्भुजित बास्कोटा यी कार्यक्रमहरुमा भाग लिन नेपालबाटै कोलम्बस आइपुगेका छन् । त्यसैगरी नेपाली गीत संगीतका चर्चित कलाकारहरु सुशील बिश्वकर्मा, प्रमोद उपाध्याय, नरेन्द्र  प्यासी, शिव परियार, केशव पौडेल, मनोजराज सिवाकोटी, जगदीश समाल, जीवन गुरुङ्ग, अर्जुन रसाइली, सुचिता गुरुङ्ग, सुजाता बर्मा यहा“ आइपुगेका छन् ।

चर्चित बासुरीबादक सुशील विश्वकर्मा, तवला बादक प्रमोद उपाध्याय,त्यसैगरी नेपाली सिने जगतका चर्चित नायिकाहरु सारङ्गा श्रेष्ठ, केकी अधिकारी, रिमा विश्वकर्मा तथा नायक दिलिप रायमाझी पनि सोही कार्यक्रमका सन्दर्भमा ओहायो पुगेका छन् । नृत्य निर्देशक तथा मोडल शंकर विसी, डान्सर तथा मोडल पार्वती राई, डान्स डाइरेक्टर तथा डान्सर रुपेश उप्रती पनि सोही कार्यक्रममा भाग लिन ओहायोमा छन् ।

इन्ट्र फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले नेपाली भाषा, संस्कृति र नेपाली कलाको सम्बर्धन गर्ने उद्देश्यले दुई रियालिटी शोहरु मेरो भ्याइस कप गायन प्रतियोगिता र मेरो डान्स कप नृत्य प्रतियोगिता आयोजना गरिएको प्रतिक्रिया दिए ।

डिसी नेपालसँग कुरा गर्दै उनले विदेशी भूमिमा बसे पनि आफ्नो मातृभाषा र संस्कृति लोप नहोस् भन्ने पवित्र उद्देश्य राखेर कार्यक्रमको आयोजना गरी फाइनलसम्म आइपुगेको बताए । उनले भने, ‘यो पुनित कार्यका लागि व्यवसायिक तथा नैतिकरुपाले सहयोग र समर्थन गर्नु हुने सम्पूर्णमा संस्थाका तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु ।’

कार्यक्रममा अतिथिका रुपमा सहभागी हुन नेपालबाट आएका नेपाल संगीत नाट्य प्रतिष्ठानका पूर्व उपकुलपति एवं बरिष्ठ संगीतकार शम्भुजित बांस्कोटाले प्रवासमा बसेर आफ्नो समुदायका प्रतिभाहरुलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गरेको यो कार्यक्रममा सरिक हुन पाउँदा खुसी लागेको बताए ।

उनले डिसी नेपालसँग भने,‘ डिल्ली अधिकारीजीले यस्ता कार्यक्रममार्फत नेपाली भाषा,संस्कृतिको प्रवर्धन गर्दै नेपाली भाषी समुदायलाई जोड्ने जुन काम गर्नु भएको छ त्यो काम मलाई मन परेकोले म सहभागी हुन आइपुगेको हुँ।’ कुराकानीका क्रममा उनले सन् १९८७ मा नेपालमा पहिलोपल्ट प्रतिभाको डवली नामक रियालिटी शो को जन्मदाताको रुपमा काम गर्दादेखि अहिलेसम्मका सुखद अनुभूतिहरु पनि उनले बताएका थिए ।

कार्यक्रममा अतिथिका रुपमा सहभागी हुन आएका नेपाल विज्ञापन बोर्डका अध्यक्ष एवं नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक लक्ष्मण हुमागाईंले नेपाल सरकारले गर्नुपर्ने अत्यन्त महत्वपूर्ण काम इन्ट्रा फाउन्डेनले गरेको भन्दै नेपाली भाषा, संस्कृतिलाई विश्वव्यापी बनाउन र प्रवासमा रहेका दोस्रोपुस्तालाई आफ्नो भाषा तथा संस्कृतिमाथि गर्व गर्ने वातावरण तयार गर्न यो कार्यक्रमले ठूलो योगदान दिने विश्वास व्यक्त गरे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *