चर्चित गायिका वैशाली बलसाराको हत्या
काठमाडौं । चर्चित गायिका वैशाली बलसाराको शव सोमबार फेला परेपछि सनसनी फैलिएको छ । गुजरातको वलसाड जिल्लाको पार्दी क्षेत्रमा कारबाट गायिकाको शव फेला परेको छ ।
पार खोला किनारमा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले वैशालीको शव पोष्टमार्टमको लागि पठाएको छ । पतिले २४ घण्टाअघि नै वैशाली हराएको उजुरी दिएका थिए र अहिले शव फेला परेपछि परिवारमा शोक छाएको छ ।
वैशाली बलसारा वलसाड क्षेत्रकी चर्चित गायिका कलाकार थिइन् । प्रहरीले वैशालीको शव पोष्टमार्टमका लागि सुरत पठाएको छ । प्रारम्भिक अनुसन्धानमा गायिकाको घाँटी थिचेर हत्या भएको प्रहरीको अनुमान छ ।
मृतक वैशाली बलसाराका परिवारको उजुरीका आधारमा प्रहरीले अहिले अनुसन्धान थालेको छ । प्रहरीले वैशालीका परिवारका सदस्य र सबै साथीसँग सोधपुछ गरिरहेको छ । यसैबीच प्रहरीले गायिकाको घरदेखि हत्या भएको स्थानसम्मको सडकको सीसीटीभी फुटेज र प्राविधिक सेवाको समेत अनुसन्धान सुरु गरेको छ । प्रहरीले हत्याको यस घटनाको अनुसन्धानका लागि विभिन्न आठ टोली समेत गठन गरेको छ ।
प्रहरीका अनुसार वैशाली कसैसँग पैसा लिन गएको भन्दै घरबाट निस्केकी थिइन् । तर, राति अबेरसम्म घर नफर्केपछि श्रीमान हितेश बलसाराले श्रीमती हराएको भन्दै महानगरीय प्रहरी चौकीमा उजुरी दिएका थिए । २४ घण्टापछि बेपत्ता वैशालीको शव फेला परेको छ ।
हितेश र वैशालीको विवाह सन् २०११ मा भएको थियो । दुबैको एक छोरी पनि छिन् । हितेश बलसाराको पहिलो श्रीमतीबाट एक छोरी पनि छन् । हितेश र वैशाली आफ्ना दुई छोरी र आमाबुवासँग बस्थे।
अहिले प्रहरीले यस सम्पूर्ण विषयमा अनुसन्धान सुरु गरेको छ । साथै, कार कसको हो, वैशाली किन र कसरी यहाँ आइन् भन्ने पनि अनुसन्धान भइरहेको छ ।







डिसी नेपाल







Facebook Comment