दलहरु उम्मेदवार सिफारिसमा व्यस्त

डिसी नेपाल
१९ भदौ २०७९ ७:५६
28
Shares

काभ्रेपलाञ्चोक। आउँदो मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि जिल्लास्थित ठूला दल उम्मेदवार सिफारिसमा व्यस्त भएका छन्। केही दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रगतरूपमा उम्मेदवार सिरफारिस सकेका छन् भने केही सिफारिसका लागि छलफलमा जुटिरहेको जनाएका छन्।

काभ्रेमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र छन्। जिल्लास्थित नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले ती निर्वाचन क्षेत्रमा प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस टुङ्ग्याएका छन्। नेकपा (एमाले)ले चार प्रदेशसभा निर्वाचन क्षेत्रका उम्मेदवारको नाम सिफरिस गरेको जनाएको छ। प्रतिनिधिसभाका दुई क्षेत्र र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रमा समानुपातिकतर्फका उम्मेदवार छनोटका लागि सोमबारदेखि छलफलमा जुट्ने पार्टी जिल्ला सचिव राजन भुर्तेलले बताए।

यस्तै नेकपा (माओवादी केन्द्र)ले भने प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ। बाँकी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको उम्मेदवारका लागि छलफलमै रहेको माओवादी केन्द्रका जिल्लाध्यक्ष भोला अर्यालले बताए। गत आम निर्वाचनभन्दा आसन्न निर्वाचनका लागि केही कांग्रेस र एमालेमा आकाङ्क्षीको सङ्ख्या धेरै देखिन्छ।

कांगे्रसकोे प्रतिनिधिसभा क्षेत्र न १ का लागि पार्टीका सभापति तीर्थ लामा सर्वसम्मत उम्मेदवार चयन भएका छन्। यस क्षेत्रमा सामनुपातिकतर्फ भने १३ जनाको नाम सिफारिस गर्ने निर्णय भएको उपसभापति रमेशप्रसाद हुमागाईँले जानकारी दिए।

त्यस्तै प्रतिनिधिसभा-१ अन्तर्गत प्रदेशसभा ‘क’मा प्रत्यक्षतर्फ गुणराज मुक्तान, राम योञ्जन, सिबी लामा, दिनेश भुर्तेल र रविन गौतमको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ भने १४ जनाको नाम सिफारिस भएको जनाइएको छ। यसै क्षेत्रको प्रदेशसभा ‘ख’मा प्रत्यक्षतर्फ गणेश लामा, सार्कीमान बल, तीर्थबहादुर पसखल, रवीन्द्रनाथ सिग्देल, सञ्जय लामा, ईश्वरीप्रसाद ओझा र सुमनराज पाण्डेको नाम सिफारिस भएको हो। उक्त प्रदेशसभामा सदस्यका लागि समानुपातिकतर्फ भने १९ जनाको नाम सिफारिस भएको हो।

यस्तै कांगे्रसको प्रतिनिधिसभा क्षेत्र नं २ प्रत्यक्षतर्फ मधुप्रसाद आचार्य, शिवप्रसाद हुमागाईँ, अच्युतप्रसाद पौडेल, रामजी पन्त (मुकेश) र ठाकुरप्रसाद न्यौपानेको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ २५ जनाको नाम सिफारिस भएको छ।

यस क्षेत्रको प्रदेशसभा ‘क’मा प्रत्यक्षतर्फ सुन्दरमणि आचार्य, होमप्रसाद चौलागाईँको नाम सिफारिस भएको छ। समानुपातिकतर्फ २२ को नाम सिफारिस भएको क्षेत्रीय समितिले जनाएको छ। प्रदेशसभा ‘ख’ प्रत्यक्षतर्फ कन्चनचन्द्र बादे श्रेष्ठ, माधवप्रसाद ढकाल, कृष्णगोपाल भैल, उद्धवप्रसाद नेपाल र ईश्वरी बादेको नाम सिफारिस भएको छ। यही क्षेत्रमा समानुपातिकतर्फ १८ को नाम सिफारिस भएको छ।

यस्तै नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधिसभा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ कान्छा तामाङ (लाप्साङ), समीप त्रिपाठी, रेशमलाल श्रेष्ठ र जमुना सापकोटाको नाम सिफारिस गरेकोे छ भने समानुपातिकतर्फ छ जनाको नाम सिफारिस गरेको छ।

यस क्षेत्रको प्रदेशसभा ‘क’ मा प्रत्यक्षतर्फ मुकुन्दप्रसाद गौतमलाई सिफारिस गरिएको छ भने समानुपातिकतर्फ पाँच जनाको नाम सिफारिस भएको जनाइएको छ। प्रदेशसभा ‘ख’ मा प्रत्यक्षतर्फ कृष्ण सापकोटा, विश्वेश्वर बञ्जारा, पुस्करप्रसाद तिमल्सिना र सञ्जिता लामाको नाम सिरफारिस गरिएको छ भने समानुपातिकतर्फ चार जनाको नाम परेको छ।

त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ मा प्रत्यक्षतर्फ विदुरप्रसाद सापकोटा तथा समानुपातिकतर्फ चार जनाको नाम सिफारिस भएको छ। यस क्षेत्रको प्रदेशसभा ‘क’मा प्रत्यक्षतर्फ लक्ष्मण लम्सालको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ तीन जनाको नाम सिफारिस गरिएको हो।

प्रदेशसभा ‘ख’मा प्रत्यक्षतर्फ वसुन्धरा हुमागाईँको नाम सिफारिस भएकोे छ । पार्टीको क्षेत्रीय समितिले समानुपातिकतर्फ चार जनाको नाम सिफारिस गरेको जनाएको छ। हुमागाईँ पार्टी जिल्ला अध्यक्ष हुन्।

यसैगरी एमाले काभे्रले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा ‘क’मा पार्टीको क्षेत्रीय कमिटीले गोमा भुर्तेल, चुडामणि गौतम, हिरामान लामा, जेनिस लामा, सत्यमान लामा, नरध्वज तामाङ, उपेन्द्र घिसिङ, रेशम चौलागाईँ, ठाकुर बाँस्कोटा, नारायण गौतम, गणेश लामा, नारायण गौतम (केशरी), प्रकाश गौतम र योगेन्द्र लामाको नाम सिफारिस गरेको छ।

यस क्षेत्रको प्रदेशसभा ‘ख’मा चन्द्र लामा, विदुर हुमागाईँ, केशव बडाल, अमित लामा, राकेश लामा, टुल्कु लामा, गणेश थापा, कृष्ण खुलाल, सुदर्शन थापा, कान्छामान लामा, मधुसुदन पौडेल र शान्ता न्यौपानेलाई सिफारिस गरिएको सचिव भुर्तेलले जानकारी दिए।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा ‘क’मा गुमानध्वज कुँवर, कुमार खकुरेल, विमला शर्मा, टीकावल्लभ सापकोटा र राजकुमार श्रेष्ठलाई प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरिएको छ। यसै क्षेत्रको प्रदेशसभा ‘ख’मा पार्टीको क्षेत्रीय कमिटीले किशोर थापा, कुमार थापा, रामशरण दाहाल, केदार सापकोटा, नवराज बजगाईँ, आत्माराम थापा र माधुरी सापकोटालाई सिफारिस गरेको हो।

पार्टीका क्षेत्रीय कमिटीले जिल्ला कमिटीलाई प्रत्यक्ष र समानुपातिकतर्फ जति सङ्ख्यामा उम्मेदवारका काम सिफारिस गरे पनि जिल्ला कमिटीले प्रदेश कमिटीमा भने प्रत्येक क्षेत्रको प्रत्यक्ष वा समानुपातिक उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस गनुपर्ने प्रावधान छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *