११ जनाको डाँका समूह र प्रहरीबीच मध्यराति गोली हानाहान
काठमाडौं । बाराको एक ग्याँस कम्पनीमा लुटपाट गर्न पुगेका डाँका समूह र प्रहरीबीच मध्यराति गोली हानाहान भएको छ । बारा प्रहरीले उक्त घटनामा संलग्न डाँका समूहका २ जना सदस्यलाई नियन्त्रणमा लिएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहिस्थित ग्यास सिलिण्डर बनाउने एरोटेक प्रालिमा लुटपाट गर्न पुगेका डाँका समूह र प्रहरीबीच गएराति १ बजे गोली हानाहान भएको हो।
इलाका प्रहरी कार्यालय जितपुरका प्रहरी उपरीक्षक कमलबहादुर शाहीको कमाण्डमा डाँका समूहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त प्रहरी टोलीले डाँका समूहलाई नियन्त्रणमा लिने क्रममा गोली चलेको थियो। डाँका समूहको तर्फबाट एक राउण्ड गोली प्रहार भएको थियो।
प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको प्रहरी नायब उपरीक्षक रामकाजी थापाले बताए। डाँका समूहले वरिष्ठ प्रहरी नायव निरीक्षकको टाउकोमा रड प्रहार गरी घाइते बनाएका छन्। उनको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको र अवस्ता खतरामुक्त छ। प्रहरीले घटनास्थलबाट एक थान बन्दुक र त्यसमा लाग्ने तीन वटा गोली र एकथान एकनाले बन्दुक बरामद गरेको छ।
प्रहरीले डाँका समूहका दुईजना पक्राउ परेका छन्। प्रक्राउ पर्नेहरुमा जितपुर सिमरा उपमहानगरपालिका ९ बस्ने ३५ वर्षीय जयराम पासवान र सोही पालिका वडा नम्बर १० बस्ने ४० वर्षीय जवाहिर महतो रहेका छन् । अन्य फरार रहेका डाँका समूहका सदस्यहरुलाई खोजी कार्य तीब्र पारेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment