दसैं लगत्तै मेलम्चीको पानी काठमाडाैंमा

सुरेश तामाङ
७ असोज २०७९ ११:४६
88
Shares

काठमाडौं। मेलम्ची खोलाको पानी दसैं लगत्तै काठमाडौंमा ल्याइने भएको छ। मेलम्ची खानेपानी आयोजनाले पानी ल्याउन आवश्यक प्रबन्ध गरिरहेको योजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले जानकारी दिए।

‘मेलम्ची खोलाको पानी दसैं लगत्तै ल्याउनका लागि योजनाबद्ध रुपमा अगाडि बढेका छौँ’, उनले भने, ‘मेलम्चीको पानी सङ्लो भएपछि हामीले सुरुङमा हालेर पानी काठमाडौं ल्याउँछौँ।’

आयोजनाले यही बैशाखदेखि जेठसम्म मेलम्चीको पानी काठमाडौं ल्याए पनि वर्षातका कारण जोखिम हुन नदिन पानी पठाउने कार्य रोकेको थियो।

त्यसबेला आयोजनाले अस्थायी माध्यमबाट सुरुङमा पानी पथान्तरण गरी काठमाडौंमा पानी ल्याएको थियो। तर मेलम्ची खोलामा आएको बाढीका कारण आयोजनाको काम विथोलिन पुग्नुका साथै थप क्षति हुन नदिन आयोजना सचेत बनेको आयोजनाका सहायक प्रवक्ता समेत रहेका पन्तले बताए।

‘बैशाखदेखि जेठको दोस्रो सातासम्म अस्थायी माध्यमबाट काठमाडौंमा पानी ल्याएको थियो। मनसुन सुरुभएसँगै बाढीको जोखिम भएकोले काम रोक्नु परेको हो’, उनले भने।

खोलामा आएको बाढीका कारण क्षति हुन नदिन आयोजनाले सुरुङको गेट बन्द गरेर राखेको छ। गत वर्षको असारमा मेलम्चीमा आएको बाढीका कारण मेलम्ची आयोजनासहित मेलम्ची बजारमा समेत ठूलो धनजनको क्षति भएको थियो।

त्यसबेला सुरुङ र मुहान (हेडवक्र्स) मा क्षति पुर्‍याएको थियो। आयोजनाले दसैं सकेलगत्तै पानी पथान्तरण गर्ने भनेपनि कहिलेबाट काम सुरु गर्ने भन्ने अझै टुंगो लागिसकेको छैन।

अस्थायी बाँधसम्म पुग्ने सडक बाढीका कारण तहस नहस बनेको छ। धेरै स्थानमा सडकको नाम निसान देखिँदैन । सडक बाढीले क्षतविक्षत पारेको छ।

आयोजनाका सहायक प्रवक्ता पन्तले दशै सकेपछि बाढीले बनाएको सडकको ट्रयाक खोलेर अस्थायी बाँध सम्म पुग्ने र बाँध सफा गरे पानी काठमाडौंका लागि पथान्तरण गर्ने योजना रहेको जानकारी दिए।

मेलम्चीको खोलामा गेग्रानहरु आएर थुप्रिएको छ। गेग्रान हटाउन आयोजनालाई महिनौँ लाग्ने देखिन्छ। त्यसकारण पनि काठमाडौंमा पानी आउन अझै समय लाग्ने निश्चित छ।

मनसुन सकृय रहेकै कारण वर्षा पर्नाले खोलामा पानीको बहाव बढेको र दसैं लगत्तै पानी पर्न कम हुने र खोलामा पनि पानीको बहाब कम हुने भएकाले सडक मर्मत गर्न सकिनेसम्मको समय आयोजनाले कुरिरहेको छ।

यस बिचमा आयोजनाले सुरुङ र सुरुङ हुँदै आउने खानेपानीलाई प्रशोधन गर्न सुन्दरी जलमा पानी प्रशोधन केन्द्र समेत निर्माण सम्पन्न गरिसकेको छ।

वर्षा, बाढी जस्ता चुनौतीका कारण बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको यस आयोजनाले पानी ल्याउने काम अझै लम्बिरहेको देखिन्छ।

 

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *