अटो चलाएर गुजारा गर्छन् सलाम बम्बेका शफीक

डिसी नेपाल
१० असोज २०७९ १२:१४

मुम्बई। बाल कलाकारका रूपमा शफीक सैयदले फिल्म ‘सलाम बम्बे’ मा अभिनय गरे। फिल्ममा उनीसँगै रघुवीर यादव, इरफान खान र नाना पाटेकरको पनि अभिनय थियो। ठूला स्टारसँगै उनको अभिनयलाई पनि सबैले मनपराए । उनले नेसनल अवार्डसमेत जिते।

शफीकले सानै उमेरमा यति ठूलो सफलता पाउँछु भन्ने कहिल्यै सोचेनन्। उनले फिल्ममा कृष्णको भूमिकामा अभिनय त गरे, तर आगामी दिनमा कति संघर्ष गर्नुपर्छ भन्ने उनलाई थाहा थिएन। ‘सलाम बम्बे’ पछि उनको भाग्यको ढोका खुल्नेमा सबै ढुक्क थिए। किनकि उनले नेसनल अवार्ड जितिसकेका थिए । तर ठीकविपरीत भइदियो।

‘सलाम बम्बे’ पछि उनी अर्को एक फिल्ममा मात्र देखिए। त्यसपछि उनी बलिउडबाट गुमनाम भए। उनले कैयौं निर्माताको घर र कार्यालय धाए, तर कतै काम पाएनन्। उनी निरास भएर गृहनगर बैंगलोर फर्किए। घर फर्किएपछि उनले जीवन चलाउन सानोतिनो काम गरे। कहिले लाइटमेन बने त कहिले अटो चालक।

उनी अहिले अटो चलाएर परिवारको पालनपोषण गरिरहेका छन्। उनको विवाह भइसकेको छ र चार सन्तान छन्। उनी कन्नड उद्योगको टेलिभिजन प्रोडक्सन युनिटमा असिस्टेन्टको रूपमा पनि काम गर्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *