सन्दर्भ : अन्तर्राष्ट्रिय थाहा दिवस

के नेपालमा चाहिएको सूचना सहज उपलब्ध छ ?

विजयप्रसाद मिश्र
१२ असोज २०७९ १२:४१

काठमाडौं। सूचनाको हक सम्बन्धी राष्ट्रिय महासंघले बुधवार काठमाडौंको बानेश्वरमा अन्तर्राष्ट्रिय थाहा दिवस मनायो। राष्ट्रिय सूचना आयोगले गोष्ठी गरेर यो दिवस मनायो। आजकै दिन सेप्टेम्बर २८ तारेखका विश्वभर अन्तराष्ट्रिय सूचना दिवस मनाइँदैछ।

नेपालमा समेत सूचनाको हकका लागि काम गर्ने निकाय र व्यक्तिहरुले औपचारिक कार्यक्रमहरु गरेर विश्व थाहा दिवस मनाएका छन्। तर के यसरी दिवस बनाउँदैमा नेपालीले चाहिएको सूचना सहज रुपमा पाइरहेका छन् त? धेरैको उत्तर आउँछ छैन।

हो, नेपालमा जसलाई सूचना चाहिएको छ उसले सहज रुपमा प्राप्त गर्न सकिरहेका छैनन् तर विदेशीहरुलाई भने सरकारका विभिन्न निकाय र सरोकारवाला कार्यालयहरुले सहज रुपमा सूचनाहरु चुहाउने गरेका छन्।

सूचना माग्ने निकाय कत्तिको कामलाग्ने छ त्यस अनुसार सूचना दिने प्रचलन बढेर गएको छ। सूचना माग्ने मानिस कत्तिको पहुँचवाला छन् त्यस अनुसार सूचना दिने नदिने वा अल्झाएर राख्ने रणनीति सार्वजनिक सरोकार राख्ने निकायहरुले गरिरहेका छन्।

जुन सूचनाले उनीहरुलाई फाइदा हुन्छ त्यो सूचना नागरिक बडापत्रमा सार्वजनिक गर्ने, प्रतिवेदनहरु तयार गरेर सार्वजनिक सुनवाई, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण जस्ता गतिविधि गरेर जानकारी गराउने गरेको पाइन्छ।

तर जुन सूचना सार्वजनिक गर्दा उनीहरुलाई घाटा हुन्छ वा अख्तियारको फन्दामा पर्ने सम्भावना हुन्छ त्यसलाई बिरालो ले के लुकाएजस्तै लुकाउने प्रचलन अहिले पनि विद्यमान् छ।

कुनै सर्वाजनिक निकायहरुले कुनै व्यक्तिको व्यक्तिगत सूचना वा सार्वजनिक सूचना कुन प्रयोजनका लागि चाहिएको हो त्यो खुलाएर निवेदन दियो भने जुन कार्यालयमा त्यो सूचना छ उसले व्यक्तिलाई सूचना दिनुपर्दछ भन्ने सूचनाको हक सम्बन्धी ऐनमा नै उल्लेख छ।  नेपालको संविधानको मौलिक हकमा समेत सूचनाको हक उल्लेख गरिएको छ। प्रत्येक नेपालीलाई सूचनाको हक रहेको छ।

सरकारले आफ्नो मतहतका निकायहरुलाई सुशासन, पारदर्शिता र जवाफदेही बनाउनका लागि धेरैजसो सूचनाहरु कार्यालय आफैले नियमित रुपमा सार्वजनिक गर्नुपर्दछ भनेर कानुन र निर्देशिकाहरु नै बनाएको छ। तर त्यो धेरैजसो स्थानमा औपचारिकताको लागि मात्र गर्ने गरेको पाइन्छ।

उपभोक्ता संरक्षण मञ्चका अभियन्ताहरुले खाद्यान्नहरुमा भएको मिसावटका बारेमा बोल्दिने कोही छैन। सरकारले पर्वका बेला केही अनुगमन गरेजस्तो गर्ने तर मसलामा काठको भुस मिसाएको सूचना उपभोक्ताहरुले कसरी प्राप्त गर्ने?

राष्ट्रिय सूचना आयोग तथा अन्य सूचनाको हकमा कामगर्ने निकायहरुमा सञ्चारकर्मीहरु बढी भएकाले सूचनाको हक भनेपछि आमसञ्चार माध्यमका लागि चाहिने मात्र भन्ने सोचाई बढेर गएकोले यसको महत्व संकुचित हुँदै गएको उपभोक्ता संरक्षणका लागि खट्ने अभियानकर्ताहरुले आरोप लगाउने गरेका छन्।

सूचनाको हकको सदुपयोग गर्दा सरकार जवाफदेही हुन बाध्य हुन्छ। सरकारका निकायहरुले पारदर्शिताका लागि शुसाशनका लागि विभिन्न टुल्सहरुको प्रयोग गरेर सूचनाको हकलाई मानेर केही आम जनताको पहुँचमा सूचना पु¥याएको देखिन्छ । तर यो मात्र प्रयाप्त छैन।

कसैलाई कुनै सूचना चाहियो भने उसले सम्बन्धित निकायको सूचना अधिकारी समक्ष एउटा ढाँचामा आधारित रहेर के सूचना चाहिएको हो त्यो उल्लेख गरेर निवेदन दिनु पर्दछ। सूचना माग गर्नेले निवेदन दिएको १५ दिनभित्र सूचना अधिकारीले सूचना उपलब्ध गराउनु पर्ने नियम छ।

सूचना अधिकारीले सूचना दिन नमानेको खण्डमा कार्यालय प्रमुखलाई सूचना अधिकारीले सूचना तोकिएको अवधिभित्र नदिएकोले उक्त सूचना पाउँ भनेर निवेदन दिनुपर्दछ।

कार्यालय प्रमुखले समेत सात दिन भित्र सूचना नदिएमा सबै विवरण खोलेर राष्ट्रिय सूचना आयोगमा ३५ दिन भित्र पुनवेदन गर्नुपर्ने नियम छ। केही लामो अवधि पछि सूचना पाएपनि हुने प्रकृतिको सूचनको लागि यो प्रावधान ठीक भएपनि तत्काल चाहिने सूचनाको लागि सूचनाको हक सन्बन्धि ऐन अपुरो छ।

जिल्ला स्तरमा अहिले पनि प्रमुख जिल्ला अधिकारीको भूमिका महत्वपूर्ण छ। सूचनाको हक सम्बन्धी ऐनमा प्रमुख जिल्ला अधिकारीको भूमिका नभएकोले यो प्रभावकारी हुन नसकेको जिल्लास्तरको अभियानकर्ताहरुले बताएका छन्।

कतिपय सूचना प्रमुख जिल्ला अधिकारीले कार्यालय प्रमुखलाई आदेश दिएमा तत्काल पाउने व्यवारिक रुपमा देखिएको छ। सूचना अधिकारी र कार्यालय प्रमुखलाई गरेर दिएको २० दिनमध्ये पाँच दिन प्रमुख जिल्ला अधिकारीको भागमा पनि राखेर उनलाई सूचनाको हक सम्बन्धि ऐन भित्र भूमिका दिएमा अहिले देशभर देखिएको समस्याको आधा समस्या जिल्ला तहबाटै समाधान भई राष्ट्रिय सूचना अयोगको चक्कर लगाउन ३५ दिन कुरिराख्नु पर्दैन।

विश्व थाहा दिवसले सबै नागरिकमा सूचना माग्न पाउने अधिकारबारे अवगत होस्। सञ्चारकर्मीले मात्र होइन, गाउँगाउँ टोल टोलबाट सबै नागरिकले शिक्षा, स्वास्थ्य, खाद्यान्न सुरक्षा, पर्यावरण र दीगो विकासका विाषयहरुमा समेत सूचना मागेर सूचनाको हकको अधिकारलाई अझ फराकिलो तरिकाले सोच्न शुरु गरौं।

भ्रष्टचार विरुद्धको अभियान संचालन गर्ने हुन् या गाउँमा गुणस्तरीय विकासको चाहना गर्ने हुन् या खानेकुरामा सजगकता अपनाउनैकै लागि सबैले सूचना माग्ने काम गरौं। पाएका सूचनाहरु सार्वजनिक गरी सबैलाई सूसुचित हुने अधिकार दिलाऔं।

सूचना माग्नेमात्र होइन पाएको सार्वजनिक महत्वका सूचनालाई सबै नागरिकको पहुँचसम्म पुर्‍याऔं। विश्व सूचना दिवसको अवसरमा सूचनाको खेती गर्ने सबैलाई शुभकामना।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *