‘हिरो र भिलेनभन्दा पनि चरित्र महत्वपूर्ण हुन्छ’
काठमाडौँ। नेपाली फिल्ममा हिरो र भिलेनको रुपमा कलाकारले छवि निर्माण गर्ने गरेका छन्। केही समय यता चरित्रअनुसार प्रस्तुति हुने भए तापनि दर्शकको बुझाइमा हिरो र भिलेनको परिचय छुट्टै स्थापित छ। प्रशान्त ताम्राकार, अनुप विक्रम शाहीलाई ह्यान्डसम भिलेन भनिन्छ। हिरोको रुपमा आफ्नो परिचय स्थापित गर्न उनीहरूले काम गरिरहे तापनि दर्शकले भिलेनमा रुचाए।
“अहिले सहजै कलाकार मान्नुहुन्छ। नत्र हिरोजस्तो मान्छे भिलेन किन बनेको भन्ने प्रतिक्रिया पाउने गर्थे”, अभिनेता अनुप विक्रम शाहीले भने। ‘हँसिया’ फिल्ममा उनले निर्वाह गरेको भिलेनको भूमिकाले दर्शकमाझ प्रभाव छाड्न सफल भएको थियो। त्यसयता उनले सकारात्मक भूमिका कमै निर्वाह गरेका छन्। मोडलिङ हुँदै अभिनेता बनेका प्रशान्त ताम्राकार पनि भिलेनमा खोजिने अनुहारमै परेका छन्।
‘ऐश्वर्य’ मा निर्वाह गरेको भूमिकापश्चात् उनलाई त्यस्तै अफर भइरहेको छ। “मैले भूमिकालाई सकारात्मक वा नकारात्मक रुपमा कहिले हेरिन। आइरहेको भूमिकालाई सुहाउँदो हेरेर अभिनय गरे। यद्यपि ह्यान्डसम भिलेनभन्दा रमाइलो लाग्छ”, अभिनेता ताम्राकारले भने। काठमाडौँमा आयोजित उनीहरू (अनुप, प्रशान्त) अभिनित फिल्म ‘लाखे’ को पत्रकार सम्मेलनमा आर्यन अधिकारीले सोचाइमा आएको परिवर्तन बारे बताए।
“हिरोकै रुपमा काम गरिरहेको छु। अब भने सुहाउँदो भूमिका आएमा अभिनय गर्छु। म कलाकार हुँ। सकारात्मक र नकारात्मक दुवै भूमिका निर्वाह गर्न तयार छु”, अभिनेता अधिकारीले भने । दर्शकको हेराइमा आएको परिवर्तनसँगै कलाकार पनि परिवर्तन भएका छन्। सस्पेन्स थ्रीलर जनराको फिल्म ‘लाखे’ कात्तिक १८ गतेबाट प्रदर्शनमा आउँदैछ। सम्राट बस्नेतको निर्देशनमा तयार फिल्ममा अर्पण थापा, सौगात मल्ल, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौलालगायतका कलाकारले अभिनय गरेका छन्। – रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment