‘महापुरूष’ हेर्न २५ वर्षपछि हल पुगे कुलमान घिसिङ
काठमाडौँ। नेपालमा लोडसेडिङको अन्त्य गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रदर्शनरत फिल्म ‘महापुरूष’ हेरेका छन्। उनले आफ्नी श्रीमतीसँगै काठमाडौंको चावहिलमा रहेको एफएक्युब सिनेमाजमा पुगेर फिल्म हेरेका हुन्। मह जोडीको अभिनय रहेको र फिल्मलाई हेर्नेले राम्रो भनेकाले दर्शक बनेर बिदाको समय सदुपयोग गरेको उनले बताए।
शनिबार साँझ ५ बजेर १५ मिनेटको शोमा फिल्म हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले आफूलाई मन पर्ने सामाजिक विषयवस्तुमै फिल्म रहेको जानकारी दिए। ‘हलमा फिल्म हेरिरहँदा उठान गरेको विषयले छोयो। सरल प्रस्तुति तर गम्भीर विषय। राम्रो कथा र नेपाली समाजसँग जोडिएको विषय’, निर्देशक घिसिङले भने, ‘हलमा खर्चेको समय र पैसाको सदुपयोग भयो । मन भित्रको अन्धकारलाई हटाउदै खुसी हुनुपर्छ भन्ने सन्देश दिएको छ। फिल्म राम्रो बनेको छ।’
उनले फिल्मले उठान गरेको कथावस्तु, कलाकारको अभिनयको प्रशंसा गरे। महापुरूषरुपी मानवको मनभित्र गुम्सिकेको वास्तविकतालाई देख्न पाएको र मनोरञ्जनसँगै शिक्षा दिने पक्ष सशक्त रहेको प्रतिक्रिया दिए। निर्देशक घिसिङलाई दर्शकको रुपमा हलमा पाउँदा आफू उत्साहित भएको लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताए।
‘हामीले अध्यारोमा गुम्सिएको आमाबुवालाई उज्यालो दिने प्रयास गरेका हौँ। आज उज्यालोको देउतालाई दर्शकको रुपमा पाउँदा सफल भएका छौँ’, निर्देशक भट्टराईले भने, ‘हल भिजिटमा पाएको प्रतिक्रियाले दर्शकसँग जोडिएको फिल्म बनाए भन्ने लागेको छ । अघिल्लो फिल्मको तुलनामा यसले पाएको वर्ड अफ माउथ निकै बलियो छ। म दर्शकसँग जोडिएको आभाष भइरहेको छ।’ प्रतिक्रिया लिन नव अभिनेता अरुण क्षेत्री र नव अभिनेत्री अञ्जना बराइली पनि हल पुगेका थिएँ।
निर्माता दीपेश खत्रीले फिल्ममार्फत एकल अभिभावकको समस्यालाई उजागर गर्ने प्रयाश गरेको बताए। ‘एक्लोपनमा गुम्सिएका बुवाआमाको मर्म फिल्ममार्फत व्यक्त गरेका हौँ । महापुरूष नभई मानव बनेर बाच्न फिल्मले प्रेरित गर्नेछ’, निर्माता खत्रीले भने। फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्ट लगायतले अभिनय रहेको छ।
फिल्ममा एक्लोपनको कथा देखाइएको छ। षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन्।
षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ। फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गरेकाछन्।
फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य/शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली, मिडिया कसल्टेन दिनेश सिटौला फिल्म्स, पब्लिसिटी डिजाइन ट्राइडेन्ट, सहायक निर्देशक शान्तिम कोइराला र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment