धनुषामा एक ट्रक अवैध मदिरा बरामद

डिसी नेपाल
१ मंसिर २०७९ १९:१८

धनुषा । धनुषा प्रहरीले भारी मात्रामा अवैध मदिरा बरामद गरेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा निषेध गरेको छ ।

निषेध गरिएको अवधिमा धनुषा प्रहरीले एक ट्रक मदिरा बरामद गरेको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । जनकपुरधाम उपमहानगरपालिका–२२ बसविट्टीबाट ना६ख ६४५३ नम्बरको ट्रकबाट कर्णाली गोल्ड नामक सोफी एक हजार २५ कार्टुन बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले गाडीलाई रोकेर जाँच गर्दा सो परिमाणको मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मदिरा र ट्रकसहित मकवानपुरको मनहरि गाउँपालिका–३ बस्ने चालक ३४ वर्षीया निर्मलकुमार रिजाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मादक पदार्थसहितको ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय धनुषामा बुझाइएको छ ।

यस्तै, प्रहरीले धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिका–४ तुल्सियाहीबाट बी.आर.०७ पी.ए.४५३९ नम्बरको भारतीय स्कार्पियोबाट चार कार्टुन गोल्डेन ओके र व्रिच नामक बियर एक बोरा बरामद गरेको छ । गाडी चालक मुखियापट्टी मुसहर्निया–४ बस्ने ३० वर्षीय साजन यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

बरामद मदिरा र गाडीसहित चालक साहलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय धनुषाको जिम्मा लगाएको प्रहरीले जनाएको छ । धनुषा जिल्लामा गत साता शनिबारदेखि नै मदिराको बिक्री वितरण, ओसारपसार तथा सेवनमा निषेध गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *