चौथो सातामा ‘महापुरुष’, दिवा तथा रात्री शोमा शतप्रतिशत अकुपेन्सी

डिसी नेपाल
२ मंसिर २०७९ १३:०२
172
Shares

काठमाडौँ। गत कात्तिक ११ गतेबाट प्रदर्शनरत फिल्म ‘महापुरुष’ चौथो सातामा प्रवेश गरेको छ। चौथो सातामा प्रवेश गर्दासमेत फिल्मले मल्टिप्लेक्समा दर्शकको राम्रो साथ पाइरहेको छ।

दिवा तथा रात्री शोहरूमा शतप्रतिशत अकुपेन्सी पाइरहेको फिल्मको शोमा समेत कटौती भएको छैन। दर्शकको छाप यथावत रहेकै कारण मल्टिप्लेक्समा फिल्मको शो घट्न पाएको छैन। फिल्म हेर्ने आइपुगेका दर्शक सन्तुष्ट भएको प्रतिक्रिया पाउँदा कलाकारसमेत रहेका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ दंग छ।

फिल्म हेर्न परिवार नै आउने गरेको हुँदा बिदामा झनै शो बढ्ने लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताए। ‘शुक्रबार र शनिबार पाएको शोमा दर्शकको चाप बढ्दो छ । परिवार नै दर्शक बनेर आउने हुँदा प्रायः दिउसो र रात्री शोहरू हाउसफुल भइरहेका छन्। फिल्म हेरेर निस्किँदा दर्शकमा देखिएको सन्तुष्टि नै हाम्रो सफलता हो’, निर्देशक भट्टराईले भने।

फिल्म युरोपमा २० नोभेम्बरबाट प्रदर्शन हुँदैछ। अन्य देशमा समेत तयारी छ। ‘फिल्मले पाइरहेको प्रतिक्रियाले विदेशमा डिमान्ड बढ्दो छ’, निर्माता दीपेश खत्रीले बताए। फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा छन्।

फिल्ममा एक्लोपनको कथा देखाइएको छ। आदर्शनगरमा बसोबस गर्ने अवकाशप्राप्त शिक्षकमार्फत पिता र एलक पुरुषसँगै एक्लोपन कथा फिल्ममा देखाइएको छ। भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अस्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रूपमा प्रस्तुत गरिएको छ। षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन्।

षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी गुरुङको सम्पादन छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रूपमा फिल्ममा डेब्यु गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *