क्यानडामा सिख युवतीको हत्या, टारगेट किलिङ हुनसक्ने प्रहरीको आशंका
काठमाडौं । क्यानडाको ब्राम्पटनमा बस्ने २१ वर्षीया सिख युवतीको गोली हानी हत्या गरिएको छ । प्रहरीले यो ‘टारगेट किलिंग’ हुन सक्ने आशंका गरेको छ ।
टोरन्टो सनको रिपोर्टका अनुसार युवतीमाथि गोली प्रहार गरिएको थियो । पिल क्षेत्रीय प्रहरीका अनुसार उक्त हमला मिसिसाउगा ग्यास स्टेशन नजिकै भएको हो ।
अधिकारीहरूका अनुसार ती महिलाको पहिचान पवनप्रीत कौरको रूपमा भएको छ, जो ग्यास स्टेशनमा नै काम गर्थिन्।
एक प्रत्यक्षदर्शी मार्क स्यान्डोभलले टोरन्टो सनलाई भने, “हामीले आक्रमणकारीले पीडितको निधारमा बन्दुक राखेको देख्यौं।” अन्य प्रत्यक्षदर्शीका अनुसार महिलालाई तीनदेखि चार पटक गोली लागेको थियो ।
ट्रिब्युन इन्डियाका अनुसार खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेपनि पवनप्रीत कौरको घटनास्थलमै मृत्यु भएको थियो । उनलाई तत्काल उपचार गराउने प्रयास गरियो तर सफल हुन सकेन ।
प्रहरीका अनुसार घटनास्थलबाट हालसम्म कुनै हतियार बरामद भएको छैन ।
केही दिनअघि सरेको एउटा पार्किङस्थलमा भारतीय मूलकी १८ वर्षीया मेहकप्रीत सेठीको पनि छुरा प्रहार गरी हत्या भएको बेला यो विषय बाहिर आएको हो ।
टोरन्टो सनको समाचार अनुसार आक्रमणकारीको पहिचान हुन सकेको छैन । आक्रमण महिला वा पुरुषले गराएको भन्ने पनि खुल्न सकेको छैन ।
प्रहरी अधिकारीले टोरन्टो सनलाई भने, “अभियुक्तले कालो लुगा लगाएको थियो र उनी घटनास्थलबाट फरार छन्। प्रत्यक्षदर्शीबाट प्राप्त प्रारम्भिक जानकारी अनुसार हामीलाई यो टार्गेट किलिंग हुनसक्ने अनुमान छ।”







डिसी नेपाल







Facebook Comment