दमक नगरपालिका र पूर्वाधार मन्त्रालयबीच सम्झौता

डिसी नेपाल
२९ मंसिर २०७९ २३:०५
20
Shares

दमक । दमक नगरपालिका र प्रदेश नं १ सरकार सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयबीच नगरपालिकाभित्र निर्माण हुने भवनको मापदण्ड निर्धारणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

राष्ट्रिय भवन संहिता कार्यान्वयनमा सहकार्यका लागि त्यससम्बन्धी आज सम्झौता भएको दमक नगरपालिकाका सहायक इञ्जीनियर ओम राईले जानकारी दिए । सम्झौतामा मन्त्रालयका तर्फबाट सचिव अशोककुमार शाह र दमक नगरपालिकाका तर्फबाट उपप्रमुख रेगिना भट्टराईले हस्ताक्षर गरेका छन् ।

यसअघि पनि दमक नगरपालिकाले भवन निर्माण संहिता लागू गरी यसलाई आन्तरिकरूपमा कार्यान्वयनमा ल्याएको भए पनि मन्त्रालयका कार्यक्रमअन्तर्गत सम्झौता गरिएको उपप्रमुख भट्टराईले बताइन्। मन्त्रालयसँग सम्झौतापत्रमा हस्ताक्षर गर्दै उपप्रमुख भट्टराईले दमक नगरपालिकाले यसअघि नै कार्यान्वयनमा ल्याइसकेको संहितालाई सम्झौताअनुसार अझ कडाइका साथ पालना गर्ने बताइन् ।

नेपाल भूकम्पीय जोखिममा रहेको देश साथै विभिन्न प्राकृतिक विपत्तिहरू आइरहने हुँदा संरचना निर्माण गर्दा संहिताअनुसारको हुनैपर्नेमा उनले जोड दिइन्। कार्यक्रममा मन्त्रालयका सचिव शाहले उक्त सम्झौता कुनै समयसीमा तोकेर भन्दा पनि सधैँका लागि गरिएको भन्दै मन्त्रलयले सम्झौताअनुसार कार्यान्वयन भए/नभएको अनुगमनसमेत गर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *