पार्वतीकुण्ड क्षेत्रलाई प्रदूषणमुक्त घोषणा

डिसी नेपाल
५ पुष २०७९ २३:०७

रसुवा । उत्तरी रसुवाको पार्वतीकुण्ड क्षेत्रलाई प्रदूषणमुक्त क्षेत्र घोषणा गरिएको छ । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्काले एक कार्यक्रमका बीच आज स्थलगत रूपमा पार्वतीकुण्डलाई प्रदूषणमुक्त क्षेत्र घोषणा गरेका हुन् ।

प्रदूषणमुक्त घोषणा भएसँगै फोहर व्यवस्थापन गराउने र महिला तथा पुरुषका लागि छुट्टाछुट्टै शौचालय निर्माण गराउन मन्त्री खड्काले डिभिजन वन कार्यालय रसुवालाई निर्देशन दिए ।

पार्वतीकुण्डको बीच भागमा रहेको बोझोलाई हटाई तलाउको पानी सफा कञ्चन बनाउने कार्यमा समेत अगाडि बढ्न वनसँग सम्बन्धित कर्मचारीलाई मन्त्री खड्काले निर्देशन दिए ।

पार्वतीकुण्डको विशेषताबारे कुराकानी गर्दै मन्त्री खड्काले भने, “भगवान् शिव र पार्वतीको सम्बन्धलाई समेत उजारण गरी धार्मिक महिमाका बारेमा प्रचारप्रसारको व्यापकता ल्याई भक्तजनको आगमन बढाउन जरूरी रहेको छ ।”

पर्वतीकुण्ड क्षेत्रमा गरिने पूर्वाधार विकासमा मन्त्रालयस्तरबाट गर्नुपर्ने सबै खाले सहयोग प्रदान हुने बताउँदै मन्त्री खड्काले गोसाइँकुण्डमा पुगेर भगवान् शिवको दर्शन गरेपछि गतलाङमा अवस्थित पार्वतीकुण्डको दर्शन गर्नैपर्ने धार्मिक मान्यता रहेकाले पार्वतीकुण्ड जाने भक्तजनको सहयोगार्थ क्रमिकरूपले पूर्वाधार विकास अगाडि बढ्दै जाने उल्लेख गरे ।

यसैबीच विसं २०६५ मा डढेलोले नोक्सान पु¥याई उजाड बन्न पुगेको गतलाङको वन जङ्गलको स्थलगत निरीक्षण गर्दै मन्त्री खड्काले नयाँ वन व्यवस्थापनअन्तर्गत डढेलोले डढेका सबै काठ हटाई स्थानीय चाहनाअनुरूप आयआर्जन दिने खालका बिरुवा रोपण गरिने बताए ।

स्थानीय बासिन्दाले ओखर रोपणको मागलाई प्राथमिकता दिन आग्रह गरेकाले वनसँग सम्बन्धित विज्ञसमेतको राय लिई स्थानीय हावापानी सुहाउँदो बिरुवा रोपणको माध्यमबाट गतलाङको वन जङ्गल हराभरा बनाउने कार्यमा अगाडि बढ्ने खड्काले स्पष्ट पारे ।

मन्त्री खड्काको स्थलगत भ्रमणको मार्ग निर्देशनले पार्वतीकुण्डका साथै वन संरक्षणमा मद्दत एवं मनोबल उच्च भएको डिभिजन वन अधिकृत अनिल रेग्मीले जानकारी दिए । गतलाङ क्षेत्रको भ्रमणका क्रममा मन्त्री खड्काले वन पैदावारको आपूर्ति व्यवस्थाका बारेमा स्थानीय बासिन्दासँग प्रतिक्रियासमेत लिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *