अमेरिकी संसद्मा जेलेन्स्कीको सम्बोधन: ‘युक्रेनले कहिल्यै आत्मसमर्पण गर्दैन’
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी कङ्ग्रेसको भरिभराउ संयुक्त सत्रलाई सम्बोधन गर्दै युक्रेनमा स्वतन्त्रताका लागि भएको लडाइँले आउँदा पुस्ता कस्तो विश्वमा जिउनेछन् भन्ने परिभाषित गर्ने बताए।
जेलेन्स्कीले “सबै प्रतिकूलताका विरुद्ध…युक्रेन जीवित रहेको र मुकाबला गरिरहेको” बताए।
बारम्बारको ताली र उभिएर दर्साइएका सम्मानबीच जेलेन्स्कीले अमेरिकी जनता र कङ्ग्रेसलाई उनीहरूको सहयोगप्रति धन्यवाद दिए।
उनले खुला रूपले सोच्ने विश्वसामु रुसी अत्याचारले नियन्त्रण गुमाएको र युक्रेनले “कहिल्यै आत्मसमर्पण नगर्ने” बताए।
त्यसअघि राष्ट्रपति बाइडनले युक्रेनलाई थप सैन्य सहायताका रूपमा झण्डै दुई अर्ब अमेरिकी डलर दिने पुष्टि गरे जसमा युक्रेनले माग गरिरहेको अमेरिकी पेट्रोइट भनिने जमिनदेखि हवाई प्रहारको क्षेप्यास्त्र प्रहार सम्बन्धी प्रणाली समेत छ।
यसअघि बुधवार बोलेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धका लागि आफ्नो देशलाई दोष दिन नहुने बताएका थिए।
“दुवै देशले शोक बाँडिरहेको” बताएका पुटिनले युद्धका लागि “तेस्रो देशका नीतिहरू” जिम्मेवार रहेको बताए।
थप अमेरिकी सहयोगको बाचा
बाइडनले युक्रेनका लागि व्यापक सहायताका रूपमा नयाँ वर्षमा झण्डै ४५ अर्ब डलरको सहायताको समेत बाचा गरेका छन् जसलाई कङ्ग्रेसले स्वीकृति दिन बाँकी छ।
बाइडनले जेलेन्स्कीलाई रुससँगको युद्धमा “आवश्यक पर्दासम्म” अमेरिका युक्रेनसँग रहने बताए।
“तपाईँ कहिल्यै एक्लै उभिनुहुनेछैन,” ह्वाइटहाउसमा बाइडनले जेलेन्स्कीलाई भने।
जेलेन्स्की युक्रेनमा रुसले अतिक्रमण सुरु गरेपछि पहिलो विदेश भ्रमणका रूपमा अमेरिका पुगेका हुन्।
जेलेन्स्कीले थप के भने?
जेलेन्स्कीले युक्रेनलाई सघाउन अमेरिकाले दिने आर्थिक प्याकेजहरूलाई विश्वव्यापी सुरक्षाका लागि भएको लगानीका रूपमा अर्थ्याए।
“तपाईँहरूको पैसा परोपकार होइन,” उनले भने।
जेलेन्स्कीले आफ्नो हालैको अग्र मोर्चामा पर्ने बक्मुत सहरको भ्रमणबारे बताउँदै त्यहाँ “जमिनको हरेक इन्च रगतमा भिजेको” बताए।
उनले अमेरिकीहरूलाई क्रिसमसको शुभकामना दिने क्रममा युक्रेनीहरूले मैनबत्तिमा उक्त पर्व मनाउने बताए।
“त्यो थप रोमाञ्चक हुने भएकाले नभई त्यहाँ विद्युत् नभएकाले हो।”
जेलेन्स्कीले युक्रेनप्रति सद्भाव राख्ने हरेक “अमेरिकी परिवार” र त्यहाँका “हरेक सहर” र हरेक अमेरिकीप्रति धन्यवाद व्यक्त गरे।
उनले युक्रेनले “पूर्ण विजय” हासिल गरेर छाड्ने भन्दै मन्तव्य सकेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment