दलका नेताहरु : प्रधानमन्त्री दाहालले ३० दिनभित्र विश्वासको मत लिनेमा आशंका
काठमाडौं । नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले ३० दिनभित्र विश्वासको मत लिनेमा आशंका व्यक्त गरेका छन् । रिपोटर्स क्लवले मंगलबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले सरकारमा सहभागी दलहरुलाई मिलाएर लानु चूनौति भएको भन्दै ३० दिनभित्र विश्वासको मत लिनेमा आशंका व्यक्त गरेका हुन् ।
उनले ३० दिनभित्र विश्वासको मत सफल भए दुई बर्ष सरकार ढूक्कले चल्ने जिकिर गरे । विश्वकर्माले यसअघिको गठबन्धन टुट्नु राजनीतिक परिधिभित्र दुर्भाग्यपूर्ण घट्ना भएको तर्क गरे । कांग्रेस नेताहरुले प्रचण्डको स्वभाव चिन्न नसक्नु गलत भएको भन्दै उनले केही सावधानी अपनाउन नसक्नु कांग्रेसको गल्ती भएको उनको भनाइ छ ।
साक्षात्कारमा नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता दिनानाथ शर्माले आफुहरुले कांग्रेसलाई धोका नलिएको जिकिर गरे । जनादेशको मर्म नै कम्युनिष्टहरुबीच आपसमा सहकार्य गर्नु भएकाले माओवादी र एमाले मिलेर मुलुकको बिकासमा अघि बढ्ने उनले बताए ।
त्यस्तै एमालेका नेता सूर्य थापाले एमाले र माओवादीबीच नयाँ ढंगले सहकार्यको सुरुवात भएको टिप्पणी गरे । थापाले राजनीतिमा असम्भव लागेको कुरा पनि सम्भव हुने भन्दै अहिलेको संसद्को गणितले नै सरकार गठनको लागि गठबन्धनको माग गरेको स्पष्ट गरेका छन् । नेपालको संविधानबमोजिम भएको दोस्रो आवधिक निर्वाचनपछिको प्रतिनिधिसभाको संरचनाले नै अहिलेको सरकार बनेको उनले बताए ।
उनले विदेशी शक्तिले नेपालमा गैरकम्युनिष्ट शक्ति बनाउने र कम्युनिष्टहरुलाई जिल्याएर सडकमा राख्ने कोशिश गरेको तर्क पनि गरे।







डिसी नेपाल








Facebook Comment