निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धान : ६ सय ६५ जनासँग लिखित बयान, अझै अत्तोपत्तो छैन
काठमाडौं । गृहमन्त्रालय सम्हालेपछि उप–प्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्यारा पत्ता लगाउने निर्णयमा हस्तक्षर गरे ।
उनको सो निर्णयपछि प्रहरीले निर्मला पन्त हत्या अनुसन्धानका लागि गठन भएको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहको नेतृत्वको पाँच सदस्यीय अनुसन्धान टोली गठन गर्यो । सो टोली अहिले कञ्चनपुरमा सक्रिय रहेको छ ।
यसअघि पनि डिआइजी सिंहकै टोली कञ्चनपुरमा सक्रिय थियो । अहिले पनि त्यो टोली बाहेक नियमित रुपमा सीआईबीको अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले अनुसन्धान जारी राखिरहेको छ ।
यस्तो बेलामा प्रहरीले पुनः डिआइजी सिंहलाई कञ्चनपुर पठयो । सिआइबीकै प्रहरी उपरीक्षक कमल थापा, प्रहरी निरीक्षक धीरेन्द्र रोकायासहित चिकित्सक सहभागी छन् । जो टोलीले दुई जना भारतीय नागरिकको डिएनए परीक्षण गर्ने तयारी गरेको छ ।
‘अहिले आएर पुनः डिएनए परीक्षणको तयारी छ यद्यपि अब त स्वाव कमजोर भैसकेको अवस्था तर पनि डिएनए भन्न छाडिएको छैन’ एक प्रहरी अधिकारीले भने ‘डिएनए परीक्षणको मेलो भनेको चाहि हत्यरा पक्राउ नगर्ने तरीका मात्रै हो ।’
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले निर्मला हत्या प्रकरणमा डिआईजी सिंह नेतृत्वको पाँच सदस्यीय टोलीले अनुसन्धान गरिरहेको बताए ।
उनका अनुसार यसअघि नियमित रुपमा सीआईबीको एसपीको नेतृत्वमा रहेको टोली र जिल्लाको अनुसन्धान अधिकृतको टोलीले अनुसन्धान जारी राखेको थियो । अहिले त्यही टोलीमा केही प्राविधिक टिम थपिएको मात्रै हो । अपराधी पत्ता नलागुन्जेलसम्म जिल्लामा अनुसन्धान अधिकृत सरुवा हुने वित्तिकै नयाँ अधिकृत तोकेर अनुसन्धान जारी रहने गरेको उनले बताए ।
सीआईबीको एसपीको नेतृत्वमा टोली भए पनि प्रहरी निरीक्षकको नेतृत्वको टोली जिल्लामा खटिएर अनुसन्धान गरिरहेको छ । ‘यसअघि अनुसन्धान बन्द भएको भन्ने होइन्, नियमित भइरहेको थियो,’ प्रवक्ता राईले भने ।
हाल अनुसन्धानको नेतृत्वमा रहेका डिआईजी सिंहले यसअघि पनि निर्मला पन्तको हत्याको अनुसन्धान कञ्चनपुर पुगेर गरिसकेकी थिइन् । तर पनि पुनः उनलाई नै पठाइएको छ । घर र माइतीघर दुवै कञ्चनपुरमै रहेकी सिंह स्थानीयबीच परिचित अनुहार हो ।
परिचित व्यक्तिलाई नै अनुसन्धानमा खटाइँदा वास्तविकता आउने भएकाले सिंहलाई नै जिम्मेबारी दिएको बताइएपनि अनुसन्धानमा यस्तो हुन नहुने अनुसन्धानमा पोख्त अधिकारीहरुको दावी छ ।
कञ्चनपुर जिल्ला प्रहरीका अधिकारीहरु भने निर्मला हत्या अनुसन्धानका बारेमा जानकारी दिन मान्दैनन । उनीहरु विवाद हुन्छ भनेर सूचना चुहाउन मानिरहेका छैनन ।
‘उतै माथिबाट आउनेहरुले नै गर्ने हो हामी त सहयोगी मात्रै हो’, कञ्चनपुरका एक अधिकारीले भने ।
प्रहरीका अनुसार अहिलेसम्म १ सय १५ जनाको डिएनए परीक्षण गरिसकेको भएपनि थप दुई जना भारतीय नागरिकको डिएनए परीक्षणको तयारी छ । उनीहरुको परीक्षणबाट पनि नतिजा आउनेमा प्रहरी विश्वस्त छैन ।
चार वर्षसम्म रहस्यमै रहेको निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धान चाँडो गरेर न्याय दिन पहल गर्ने गृहमन्त्री लामिछानेले पहिलो निर्णय गरेका भएपनि तत्कालै यही अवस्थाबाट नतिजा आउनेमा निकै शंका रहेको छ । निर्मला पन्त हत्याका घटनास्थलका सबै प्रमाण प्रहरीले नै नष्ट गरेकाले निर्मलाको हत्याराको तथ्य फेला पर्न सहज छैन ।
प्रहरीले डिएनएको सहारा लिइराखेको भए पनि राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनमा डिएनएकै भरमा पर्न नहुने उल्लेख गरिसकेको छ । नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनालले आफ्नो कार्यकालमो उद्धार्धमा यो मुद्धालाई टुंगो लगाउन हरसम्धवको मेहनत गरेका थिए । उनीपछिका आइजीपी शैलेश थापाले निकै कोसिस गरेका थिए ।यद्यपि यी दुवै आइजीपी असफल भए ।
‘नेपाल प्रहरीको इतिहाँसमा सबैभन्दा बढी खर्चिलो अनुसन्धान प्रकृया पनि यही घट्नामा भएको छ यो सजिलै नतिजा हात लाग्नेवाला छैन’, एक प्रहरी अधिकृतले भने ।
हत्या प्रकरणमा छानबिनका लागि यसअघि पनि विभिन्न छानबिन र अध्ययन भएका छन् । राष्ट्रिय मानवअधिकार आयोग, गृहमन्त्रालयका सहसचिवको नेतृत्वको उच्चस्तरीय छानबिन समिति, एआइजी धीरु बस्नेत नेतृत्वको छानविन टोली, डिआइजी सुरज केसी नेतृत्वको छानबिन टोली लगायतका समितिले निर्मला पन्त हत्याको छानबिन तथा अध्ययन गरेका थिए ।
डिआइजी केसी बाहेक अन्य टोलीको छानबिनले घटनास्थलका प्रमाण नष्ट गरेको लगायतका कमजोरी औँल्याएको थियो । पछिल्लो पाँच महिनामा मात्रै १० जनाको डिएनए परीक्षण गरिएको थियो । अहिलेसम्म ६ सय ६५ जनासँग लिखितरुपमै सोधपुछ गरिएको छ ।
२०७५ साउन १० गते साथी रोशनी बमको घरमा पढ्न गएकी १३ वर्षीया निर्मला पन्त बेपत्ता भएकी थिइन्। उनको दोस्रो दिन बिहान (११ गते) नजिकैको उखुबारीमा घोप्टो परेको अवस्थामा निर्मलाको शव फेला परेको थियो। घटनाको चार दिनपछि साउन १४ गते निर्मलाका आफन्तले शव बुझेर दाहसंस्कार गरेका थिए ।
बलात्कार गरी हत्या गरिएको प्रहरीको निष्कर्ष छ । उनको शरीरमा लगाएका भित्री लुगा समेत प्रहरीले जलाएको थियो भने घटनास्थलमा भेटिएका कापी किताब, साइकल लगाएतका सामग्रीबाट फिङ्गर, फुट प्रिन्ट लगाएतका प्रमाण संकलन नगरी नष्ट गरिएको थियो ।
ती नष्ट हुनुको कारण भूलवस थियो कि नियतबश थियो भन्ने कुरामा अहिले पनि खुल्न नसकेको अवस्थामा प्रहरीका केही अधिकृतहरुको जागिरे जीवनको वृत्ति विकासमा समेत गम्भीर धक्का लागेको थियो ।







डिसी नेपाल







Facebook Comment