पोखरा विमान दुर्घटना : श्रीमानको पाइला पच्छ्याउँदै पाइलट बनिन्, श्रीमानकै जस्तो अन्त्य
काठमाडौं । पोखरामा आइतबार दुर्घटना भएको यति एयरलाइन्सको विमानमा अन्जु खतिवडा सहचालक थिइन् । उक्त विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । उनीहरु मध्ये सम्भवतं कोही पनि बाँचेनन् भन्ने अधिकारीहरुले अनुमान गरेका छन् । अहिलेसम्म ६९ जनाको शव फेला परेको छ ।
अन्जुको कथा विमानमा सवार अन्य मानिसको भन्दा फरक छ । यो उनको परिवारको लागि समान ‘दोस्रो त्रासदी’ हो। करिब १६ वर्षअघि अन्जुका श्रीमान दीपक पोखरेलको पनि विमान दुर्घटनामा निधन भएको थियो ।
त्यो पनि यति एयरलाइन्सको विमान थियो । त्यो विमान पनि अवतरण हुनुभन्दा केही मिनेट अगाडि नै दुर्घटनाग्रस्त भयो र त्यो दुर्घटनामा पनि जहाजमा सवार कोही पनि बाँचेनन् ।
आइतबार भएको दुर्घटनामा पनि विमान अवतरण हुनुअघि नै दुर्घटना भएको थियो । दीपकको मृत्यु हुँदा अन्जु २८ वर्षकी थिइन् । त्यतिबेला उनीसँग जीवनमा अगाडि बढ्नका लागि धेरै विकल्प थिए ।
यती एयरलाइन्सका अधिकारीले समाचार एजेन्सी पीटीआईलाई भने, “अन्जुका बुबाले उनलाई भारत गएर पढून् र करियर बनाउन् भन्ने चाहन्थे तर अन्जुले मानिनन्।” अन्जु श्रीमान दीपकको सम्झनामा उड्डयन उद्योगमा लाग्न चाहन्थिन् ।
अधिकारीले भने, “उनी पाइलट बन्न चाहन्थिन्। यो सपना पनि पूरा गरिन्।” यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला भन्छन्, ‘श्रीमानको मृत्युपछि पाएको बीमा रकमबाट अन्जुले उड्डयन कोर्स (विमान उडाउने तालिम) गरेकी थिइन् ।’
उनी सन् २०१० मा यति एयरलाइन्समा भर्ना भएकी थिइन् । यो त्यही एयरलाइन्स कम्पनी हो जहाँ अन्जुका श्रीमान दीपक पनि काम गर्थे । दिपक अनुभवी पाइलट थिए । समाचार एजेन्सी पीटीआईका अनुसार उनी नेपाली सेनाको हेलिकप्टर उडाउने गर्थे ।
अन्जुसँग विवाह गरेको केही वर्षपछि उनी यति एयरलाइन्समा आबद्ध भए । यती एयरलाइन्ससँग सम्बद्ध अधिकारीहरुले उनको ज्यान गएको विमान दुर्घटना सन् २००६ मा भएको बताएका छन् ।
उनी भन्छन्, “दीपकको ज्यान गएको विमान दुर्घटना नेपालको जुम्ला जिल्लामा भएको थियो। ‘यति एयरलाइन्सको त्यो सानो विमानमा दुई पाइलटसहित नौ जना थिए र सबैको मृत्यु भएको थियो। विमान अवतरण हुनुअघि नै दुर्घटना भएको थियो ।”
यति एयरलाइन्सका अधिकारी तथा कर्मचारीहरुले अञ्जुलाई सक्षम पाइलटका रुपमा सम्झन्छन् । यती एयरलाइन्सका एक अधिकारीले रोयटर्स समाचार एजेन्सीलाई भने, “उनी कुनै पनि जिम्मेवारी लिन तयार थिइन्। उनी यसअघि पनि पोखरा गएकी थिइन्।”
अन्जुसँग उडानको लामो अनुभव थियो। यति एयरलाइन्ससँग सम्बद्ध स्रोतले समाचार एजेन्सी पीटीआईलाई भने, ‘अन्जुले ६ हजार ३ सय घण्टाभन्दा बढी समय विमान उडाएकी थिइन् ।’ उनी काठमाडौं, भद्रपुर, विराटनगर र धनगढीबाहेक धेरै विमानस्थलमा उडिसकेको एक अधिकारीले बताए ।
आइतबार दुर्घटना भएको यति एयरलाइन्सको विमानका पाइलट कमल केसी थिए । एयरलाइन्सका अनुसार, “उनीसँग २१ हजार घण्टाभन्दा बढी उडानको अनुभव थियो। उनको शव फेला परेको छ र पहिचान गरिएको छ।”
सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा आइतबार दुर्घटना भएको यति एयरलाइन्सको विमान सघन बसोबास भएको क्षेत्रमा तल उडेको र त्यसपछि एक्कासी खसेको देखिन्छ ।
दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय आयोग गठन गरिएको छ । यो आयोगले विमान दुर्घटनाको कारणबारे जानकारी दिनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को बैठकमा देशका सबै हवाईजहाजको प्राविधिक निरीक्षण अनिवार्य गर्न निर्देशन दिएका छन् । यसको अनुगमनको जिम्मा नागरिक उड्डयन प्राधिकरणलाई दिइएको छ ।
नेपालका अधिकारीका अनुसार आइतबार दुर्घटना भएको यति एयरलाइन्सको विमानको ब्ल्याक बक्स फेला परेको छ ।
छानबिन समितिका सदस्य सचिव बुद्धिसागर लामिछानेले बीबीसीलाई भने, “दुर्घटना हुनुअघि विमानको अवस्था कस्तो थियो भन्ने ब्ल्याक बक्सले देखाउँछ, विमानको कुन भागको सङ्केत थियो। के अचानक गडबडीका कारण दुर्घटना भएको हो ? ब्ल्याक बक्सबाट दुर्घटनाको कारण बाहिरी कारण थियो वा आन्तरिक कारणले भएको हो थाहा हुन्छ ।”
विमानको ब्ल्याक बक्समा फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर दुवै हुने भएकाले अनुसन्धानमा यो निकै महत्वपूर्ण हुने लामिछानेले बताए ।
छानबिन आयोगले ४५ दिनभित्र प्रतिवेदन बुझाउने छ । भविष्यमा यस्ता दुर्घटना हुन नदिनका लागि निर्देशिका तयार गर्ने जिम्मेवारी पनि आयोगलाई दिइएको छ ।
सन् २००० देखि हालसम्म नेपालमा विमान र हेलिकप्टर दुर्घटनामा करिब ३५० जनाको मृत्यु भएको छ । विश्वका अग्ला हिमालमध्ये आठ वटा नेपालमा छन् ।
विमान दुर्घटनाका हिसाबले नेपाल सबैभन्दा खतरनाक क्षेत्र मानिन्छ ।
गएको जेठमा नेपालको मुस्ताङमा विमान दुर्घटना भएको थियो । जसमा तारा एयरको डीएच-६ विमान दुर्घटना हुँदा विमानमा सवार सबै २२ यात्रुको मृत्यु भएको थियो ।
सन् २०१८ मा काठमाडौं विमानस्थलमा ठूलो विमान दुर्घटना भएको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार मार्च १३ मा भएको दुर्घटनामा ७१ मध्ये ५० भन्दा बढी यात्रुको मृत्यु भएको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment