आर्थिक र पारिवारिक समस्याले बढ्दो हत्या

नानीमैंया कटवाल/रासस
३ माघ २०७९ १४:५२

सप्तरी। आर्थिक र पारिवारिक समस्याको साथै नैराश्यताका कारण उत्पन्न आवेगले पनि पछिल्लो समय हत्याको घटना बढ्दै गएको छ। सप्तरीमा एक वर्षको अवधिमा भएको १२ वटा हत्याको घटनामा सामान्य विवाद, डिप्रेसन र रिस नै कारण रहेको एक अध्ययनले देखाएको छ।

इन्सेकको सन् २०२२ को प्रतिवेदनअनुसार २०७८ पुस १७ देखि २०७९ पुस १६ गतेसम्म सप्तरीमा भएका छ पुरुष, चार महिला र दुई बालक गरी १२ वटा हत्या पारिवारिक विवाद, मादक पदार्थ सेवन, डिप्रेसन, सम्पत्ति र जग्गा विवाद तथा तत्काल उठेको रिसका कारण भएको इन्सेक प्रतिनिधि मनोहर पोखरेलले बताए।

एक वर्षको अवधिमा बढी चर्चामा रहेको घटनामा सशस्त्र प्रहरी सहायक निरीक्षकको हत्या र पेट्रोल छर्केर भाउजूको हत्या गरेको घटना रहेको छ। छिन्नमस्ता गाउँपालिका–३ गोविन्दपुरस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बिओपी) भित्रै सिरहा भगवानपुर गाउँपालिका–२ नरहाका ४५ वर्षीय सशस्त्र प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवको २०७९ असोज १९ गते हत्या भएको थियो।

हत्याको आरोपमा सशस्त्र प्रहरी जवान ओखलढुङ्गा जिल्ला खिजिदेम्वा गाउँपालिका–२ का ३९ वर्षीय होमबहादुर खत्री कात्तिक २२ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा छन्। यादवको शव नेपाल–भारत सीमाभन्दा तीन किलोमिटर दक्षिण भारत विहार राज्यको मधुवनी जिल्लाअन्तर्गत जिरोगा पुनर्वासस्थित घोडदह खोलामा असोज २० गते नाङ्गो अवस्थामा फेला परेको थियो। उक्त घटना सीमा क्षेत्रमा हुने तस्करी र पदीय शक्ति हाबी हुने प्रवृत्ति रहेको बताइएको छ।

यस्तै बोदे बर्साइन नगरपालिका–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरेको आरोपमा उनकै देवर २१ वर्षीय परमेश्वर साह असार ७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्। घरबाटै गत जेठ १५ गते पक्राउ परेका युवा कुलतमा फसेका र डिप्रेसन कारण घटना भएको प्रहरीले जनाएको छ।

राजविराज नगरपालिका–१ चनौरा पडरियाकी ४० वर्षीया गीतादेवी रजकको हत्या स्वीकारेका उनका श्रीमान् ५२ वर्षीय भैयालाल भनिने हिरालाल रजक पुस ६ गतेदेखि राजविराज कारागारमा थुनामा छन्। उनलाई सर्वस्वसहित जन्मकैद सजाय भएको छ। श्रीमान्ले विदेशमा कमाएको रुपियाँ हिनामिना गरेको विषयमा विवाद हुँदा हत्या गरिएको अवस्थामा मङ्सिर १० गते राजविराज नगरपालिका–१ स्थित प्राङ्गारिक मल बनाउने निर्माणाधीन खुल्ला भवनको प्यासेजभित्र गीताको शव फेला परेको थियो।

यस्तै सुरुङ्गा नगरपालिका–२ घुमाउने चौरीकी ४३ वर्षीया देवकुमारी सदाको हत्या आरोपमा उनका श्रीमान् ४९ वर्षीय अघना भनिने अगहनु सदाले छ महिना कैद सजाय भोगेका छन्। सामान्य घरायसी विवादमा कुटपिट गर्दा फागुन २९ गते देवकुमारीको मृत्यु भएको थियो। जम्मा ५० हजार रुपियाँ धरौटी राख्न नसक्दा पुर्पक्षका लागि थुनामा बसेका अगहनुलाई अदालतले गत भदौ ६ गते कैद सजाय तोकेको हो।

यस्तै साइकलले बालकलाई सामान्य ठक्कर दिएको विषयमा उत्पन्न विवादमा डाक्नेश्वरी नगरपालिका–८ प्रवाहापट्टि टोलकी ६० वर्षीया जीरादेवी मण्डलको हत्या भएको घटनामा सोही ठाउँका राजेश्वर शर्मा साउन २४ गतेदेखि कारागारमा थुनामा छन् भने रीनाकुमारी शर्मा पुस १४ गते दुई लाख रुपियाँ धरौटी राखी तारेखमा रिहा भएकी छिन्।

खेतबालीका लागि मल लिएर घरतर्फ आइरहेका २६ वर्षीय मनोज मण्डल सवार साइकलले एक बालकलाई दिएको ठक्करले उत्पन्न विवादका क्रममा आरोपितहरुले कुटपिट गर्न थालेपछि आफ्नो छोरालाई बीचबचाउ गर्न आएकी जीरादेवीको कुटपिटबाट मृत्यु भएकोे थियो।

कञ्चनरूप नगरपालिका–१ बैरवाका ५० वर्षीय पप्पु भनिने सञ्जय राउतको हत्या घटना पत्ता लागेको छैन। घाँटी रेटी हत्या गरेको अवस्थामा गत मङ्सिर १३ गते उनको शव घरदेखि साढे एक सय मिटर उत्तरमा रहेको पोखरीमा घोप्टो अवस्थामा फेला परेको थियो। शव भेटिएको स्थानमा एउटा हँसियासमेत भेटिएको छ। राजविराजमा २०७८ साल माघ १६ गते हत्या गरी गाडेको अवस्थामा फेला परेको नवजात शिशुको हत्यारा पहिचान हुन सकेको छैन। हत्यामा आर्थिक कारण हुन सक्ने स्थानीयवासीको अनुमान छ।

अग्निसाइर कृष्णसवरन गाउँपालिका–५ धिमारका १७ वर्षीय विशाल चौधरीलाई मादक पदार्थ खाई कुटपिट गर्दा मृत्यु भएको भनी प्रहरीले उनका बुवा ५० वर्षीय राजेन्द्र चौधरीलाई भदौ ८ गते पक्राउ गर्‍यो। मृतकका मामाले रामकुमार चौधरीले घटनाको सत्यतथ्य छानबिन गर्न र हत्या गरेको खुलेमा दोषीमाथि कारबाही गर्न माग गर्दै निवेदन दिए। आरोपितलाई गत भदौ ११ गते निजकी छोरीको जमानीमा छाडिएकामा उजुरी दिन कोही सम्पर्कमा नआएपछि उक्त घटना भवितव्य ज्यानमा दर्ता भएको छ।

राजविराज नगरपालिका–१२ सिग्यौनका ३५ वर्षीय हरिदेव सदाको हत्या घटना भयो। हत्या आरोपमा गत भदौ ९ गतेदेखि अग्निसाइर कृष्णसवरन गाउँपालिका–२ भुडकी सीतापुर घर भई राजविराज नगरपालिका–१२ मा पसल गरी बस्ने ४५ वर्षीय रामकुमार सदा पुर्पक्षका लागि कारागारमा थुनामा छन्। अर्का आरोपित राजविराज नगरपालिका–११ का बौका यादव हालसम्म पक्राउ परेका छैनन्। मादक पदार्थ सेवन गरेपछि उत्पन्न विवादमा २०७८ साल माघ २९ गते कुटपिटबाट सदाको हत्या भएको सप्तरी प्रहरीले जनाएको छ।

मादक पदार्थ सेवन गर्ने साथीहरूबीच भएको झगडामा रूपनी गाउँपालिका–५ बसविट्टीका २५ वर्षीय अन्सारुल मियाँको हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ। हत्या आरोपमा वैशाख २२ गतेदेखि पुर्पक्षका लागि रूपनी गाउँपालिका–५ बसविट्टीका २२ वर्षीय लालु भनिने जयराम खङ्ग थुनामा परेका छन्। सोही ठाउँका १९ वर्षीय दीपक भनिने दीपेन्द्रकुमार खङ्ग दुई लाख रुपियाँ धरौटीमा छुटेका छन्।

बालसुधार गृह वीरगञ्ज पठाइएका १७ वर्षीय बालकलाई जेठ २३ गते संरक्षकको जिम्मा लगाइएको छ। अदालतमा असार ९ गते हाजिर भएका ४५ वर्षीय रामशुभक खङ्ग र सोही ठाउँका २० वर्षीय मो. फरिद भनिने मो. उमर राइन जनही दुई लाख धरौटी राखी तारेखमा रिहा भएका छन्। कर्तव्य गरी मारेर पानीको पोखरीमा फालेको अवस्थामा अन्सारुलको शव चैत ७ गते फेला परेको थियो।

खडक नगरपालिका–४ पंसेरास्थित पासवान टोलका २७ वर्षीय सन्तलाल पासवानको हत्या आरोपमा सोही ठाउँका ४१ वर्षीय दिलीपकुमार चौधरी जेठ ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्। विवाहमा जन्ती अघिअघि आएको डिजे बाजालाई विवाहस्थल पुग्नुअगाडि गाउँका केही युवाले रोकेपछि २०७९ साल वैशाख १२ गते सुरु भएको विवादमा पासवानमाथि चौधरीसहितका आरोपितहरुले कुटपिट गरी घाइते बनाएका थिए। घाइते पासवानको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा वैशाख १४ गते मृत्यु भएको थियो। अन्य छजना आरोपित हालसम्म फरार छन्।

खडक नगरपालिका–९ लालपट्टिका ६० वर्षीय बौला चौधरीको हत्या गरेको आरोपमा सोही ठाउँका २० वर्षीय उदयकान्त चौधरी पुर्पक्षका लागि कारागारमा थुनामा छन्। आरोपितले असार २९ गते गरेको आक्रमणबाट साउन १५ गते मृत्यु भएको भन्दै पीडित पक्षबाट इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दर्ता भएको थियो। आरोपितको घरमा काम गर्ने पीडितलाई बसिरहेको ठाउँमा पछाडिबाट ढोकाको आग्लोले एक्कासि प्रहार गर्दा बौला घाइते भएका थिए।

यसरी सबैजसो घटना डिप्रेसन, आर्थिक तथा पारिवारिक समस्या र मादक पदार्थ सेवनका कारण भएको देखिएको छ। समूहले गरेको हत्या घटनामा अर्कोमाथि हाबी हुने प्रवृत्ति र तत्कालको आवेग रहेको पाइएको प्रहरीले जनाएको छ। घटनाकै कुरा गर्दा पारिवारिक विवाद, डिप्रेसन, मानसिक समस्या, अनैतिक सम्बन्ध, सम्पत्ति, जग्गा विवाद र लेनदेन कारण हुने गरेको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले बताए।

चिकित्सक डा रणजितकुमार झा यस्ता घटना मानसिक परिस्थितिको उपज रहेको बताउँछन्। विभिन्न कारणले मानिसमा आउने तनाव र आवेगले हत्या र आत्महत्या हुने गरेको डा झाको ठम्याइ छ। मनोविमर्शकर्ता कविता जयसवालले यस्ता घटना प्रायः मानसिक समस्याकै कारण हुने गरेको बताउँछिन्। “मानसिक तनावपछि केही नदेख्ने, केही नसोच्ने अवस्था हुन्छ, त्यस्ले आफू या अरूलाई नोक्सान गर्छ र त्यो हत्यासम्म पुग्छ”, जयसवालले बताइन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवम् प्रहरी उपरीक्षक काफ्लेले आर्थिक लेनदेन, डिप्रेसन र आवेगका कारणले यस्ता घटना हुने गरेको बताइन्। यस्तो घटनाको कारण बुझ्न प्रहरीले घटनाहरूको अध्ययन गर्ने गरेको उनको भनाइ छ। हत्या घटना कम गर्न बेरोजगारी समस्या समाधान, सामाजिक सद्भाव र सकारात्मक सोचको विकास, लागूऔषध बिक्री वितरण र उत्पादनमा कडाइ, अभिभावकको निगरानी, कानुन कार्यान्वयनमा सबैको प्रतिबद्धता आवश्यक देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *