डा.रुइतलाई प्रधानमन्त्री प्रचण्डको बधाई
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई बधाई दिएका छन्। बहराइन सरकारले प्रदान गर्ने १० लाख अमेरिकी डलरको पुरस्कार राशिको इसा अवार्ड प्राप्त गरेकोमा प्रधानमन्त्रीले रुइतलाई बिहीबार बधाई दिएका हुन्।
प्रधानमन्त्री प्रचण्डले मानव कल्याणको क्षेत्रमा डा.रुइतले गरेको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय रहेको उल्लेख गरेका छन्। पुरस्कार प्राप्त गरेपछि रुइतले सरकारसँग राखेका अपेक्षाका बारेमा पनि आफू गम्भीर रहेको प्रचण्डले बताएका छन्।
‘वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु। मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ। राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ,’ प्रधानमन्त्रीले ट्विटरमार्फत भनेका छन्।
नेपाल र विदेशका गरी लाखौं मानिसको आँखा उपचार गरेर उज्यालो जीवन दिएको भन्दै डा.रुइतलाई १३ करोड नेपाली रुपैयाँ बराबरको इसा अवार्ड प्रदान गरिएको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment