करोडौ खर्च हुँदा पनि छाडा पशुको दिगो व्यवस्थापन भएन

डिसी नेपाल
७ माघ २०७९ १३:४२

महेन्द्रनगर। कञ्चनपुरमा पालिकाहरुले करोडौ रकम खर्च गर्दा पनि छाडा पशु चौपायाको यहाँ दिगो व्यवस्थापन हुन सकेको छैन्। छाडा पशु चौपायाहरु राजमार्गमा जथाभावी छाडिदा सडक दुर्घटना हुनुका साथै पालिकालाई अझै व्यवस्थापन चुनौती नै छ।

यहाँको बेदकोटदेखि भीमदत्त नगरपालिकासम्म किसानहरुले छाडा पशुका कारण बालीनाली नै नोक्सान पुर्‍याएको भन्दै आक्रोश व्यक्त गरिएपछि पछिल्लो समय जिल्ला समन्वय समितिमा छाडा पशु व्यवस्थापनका लागि सर्वपक्षीय छलफल गरिएको छ।

विगत साढे पाँच वर्ष यता भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर लगायतका नगरपालिकाले पशु व्यवस्थापनमा करोडौ रकम खर्च गरिसकेका छन्।

कञ्चनपुरमा सामुदायिक चौपाया व्यवस्थापन जिम्मेवारी पालिकाका उपाध्यक्ष\उपप्रमुखलाई दिइएको छ । बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले छाडा पशु चौपाया व्यवस्थापनका लागि वडा स्तरमै काञ्जीहाउस बनाउन लागिएको बताए।

“नगरपालिका छेउमै राखेर केही महिनायता छाडापशु अस्थायी रुपमा व्यवस्थापन गरिरहेका छौं”, उनले भने, “ दोस्रो कार्यकालका लागि हामी आइसकेपछि मात्रै छाडापशु व्यवस्थापनमा रु साढे ५ लाख जति खर्च भइसकेको छ।”

उनले दशमध्ये आठ वडामा काञ्जीहाउस बनिरहेको बताए। “ काञ्जीहाउस लगायतका व्यवस्थापनमा रु २८\३० लाख जति खर्च हुने अनुमान छ”, उनले भने, “ छाडा पशु व्यवस्थानमा पशुपालक किसानहरु पनि सहयोगी हुनु आवश्यक छ ।” बितेका साढे पाँच वर्ष यता बेदकोट नगरपालिकाको छाडा पशु चौपाया व्यवस्थापनमा रु १ करोड भन्दा बढी खर्च भइसकेको नगरपालिकाले जनाएको छ।

भीमदत्त नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापनका लागि वडा नं. १३ का वडाध्यक्ष रामबहादुर बोहराको नेतृत्वमा कार्यदल समेत बनाएको थियो। कार्यदलका संयोजक रामबहादुर बोहराले पशु व्यवस्थापनका लागि आवश्यक पर्ने जग्गा खोजी गरेर नगरपालिकालाई प्रतिवेदन बुझाएको बताए।

“ हामीले यो यो ठाउँमा खाली जमिन छ । पहलका लागि आवश्यक सुझावसहित प्रतिवेदन बुझाएका छौ”, उनले भने, “आजभोलिमा कहाँ व्यवस्थापन हुने हो टुङ्गो लाग्छ।”

भीमदत्त नगरपालिकामा अघिल्लो कार्यकालमा चौपाया व्यवस्थापनका लागि आवश्यक कानुनका साथै भौतिक संरचना समेत निर्माण गरिएको थियो। चौपाया व्यवस्थापनकै क्रममा भीमदत्त नगरपालिकाले छाडापशुमा ट्याग लगाउने कार्य गरेको थियो। हालसम्म भीमदत्तले रु ९१ लाख भन्दा बढी रकम खर्च गरिसकेको छ।

त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकाले यहाँको वडा नं. ९ सिर्सैयाको बिन्द्रावन सामुदायिक वन परिसरमा छाडा पशु चौपाया व्यवस्थान गरिरहेको छ। त्यसको जिम्मेवारी नगरपालिकाबाट वडाअध्यक्ष रमेश ऐरले लिएका छन्। वडाध्यक्ष ऐरले हाल बिन्द्रावन सामुदायिक छाडा पशु व्यवस्थापन केन्द्रमा साढे तीन सय पशु रहेको बताए।

“यहाँ ल्याएर व्यवस्थापन गरेपछि शुक्लाफाँटामा हुदै गएको छ”, ऐरले भने, “ गौ सेवक, आहारा लगायतको व्यवस्थापनमा चालु आवमा रु ४० लाख दिएको छ ।” उनले विगत दुई वर्ष यता पशु व्यवस्थापनमा जुटेको बताए।

“ अर्गानिक मल उत्पादनदेखि, दुग्ध उत्पादनदेखि छाडा गोरु छाड्नेलाई कारबाही गर्नेसम्मको कार्यविधि बनाएको छ”, उनले भने,“ अरु पालिका भन्दा व्यवस्थापनमा हामी अघि छौं ।” उनले गौशालालाई सुदूरपश्चिमकै अध्ययन केन्द्र बनाउने योजना रहेको बताए। उनले विगत वर्ष यता वार्षिक रु ४० लाख नगरपालिकाले पशु व्यवस्थापनमा खर्च गरिरहेको जानकारी दिए।

छाडा पशु व्यवस्थापनमा ठूलो धनराशि खर्च भइसक्दा पनि दिगो व्यवस्थापन नहुँदा बेलाबखतमा स्थानीय किसान आक्रोशित हुदै आएका छन्। कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले आफू र छिमेकी लालझाडी पालिकासित मिलेर समेत छाडा पशु व्यवस्थापन गरिरहेको जानकारी दिए।

“ हाम्रो पालिकामा पर्ने वनहरादेखि मोहना चोकसम्म राजमार्गमा मुश्किलले अब छाडा पशु देख्नु हुन्छ”, उनले भने, “ यहाँका धेरै ठाउँमा काञ्जी हाउस बनाएर करिब एक हजारदेखि एघार सय चौपायाको व्यवस्थान गरिहेको छ।”

उहाँले आफूहरु जनप्रतिनिधी भएर आइसकेपछि चौपाया व्यवस्थापनमा रु दश लाखको हाराहारीमा खर्च भएको बताए। चार वर्षअघि कञ्चनपुरमा छाडा पशु व्यवस्थापनको विषय अदालतसम्म पुगेको थियो। महेन्द्रनगरका अधिवक्ता गजेन्द्रबहादुर रावलले यहाँका पालिकालाई विपक्षी बनाएर उच्च अदालतमा मुद्दा दायर गरेपछि उच्च अदालत महेन्द्रनगर इजलासले चौपाया व्यवस्थापन गर्न परमादेश समेत जारी गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *