क्लबफुटलाई जितेर सगरमाथा चुमेका साइत: विश्वकै अग्लो स्थानबाट खेलकुद ब्रान्ड ‘कापी’ को उद्घोष
काठमाडौं। जुनसुकै शारीरिक चुनौती र कानुनी अवरोधहरूलाई पनि दृढ इच्छाशक्ति र अथक मिहिनेतले परास्त गर्न सकिन्छ भन्ने जीवन्त उदाहरण बनेका छन्- २५ वर्षीय नेपाली युवा साइत शर्मा।
जन्मजात खुट्टाको समस्या (क्लबफुट) लाई बाल्यकालमै जितेका साइतले विश्वको सर्वोच्च शिखर माउन्ट सगरमाथाको सफल आरोहण मात्र गरेनन्, सगरमाथाको चुचुरोबाटै विश्वकै पहिलो आउटडोर फिटनेस क्लोथिङ ब्रान्ड कापीको समेत सफल शुभारम्भ गरेर नयाँ कीर्तिमान रचेका छन्।
साइतको जीवन यात्रा संघर्ष र असाधारण सफलताको जीवन्त दस्तावेज हो। जन्मँदै ‘क्लबफुट’ (खुट्टा भित्रपट्टि फर्कने समस्या) लिएर जन्मेका उनको ४ महिनाको अल्पायुमै शल्यक्रिया गरिएको थियो। मातापिताको निरन्तर हेरचाह, माया र झन्डै एक वर्षसम्मको निरन्तर फिजियोथेरापी र प्लास्टरपछि उनको खुट्टा सामान्य भएको थियो।

शारीरिक चुनौतीका ती सुरुवाती दिनहरूलाई भुलेर उनी नेपालमा फुटबल खेल्न थाले। काठमाडौँको शुभतारा स्कुलबाट विद्यालय शिक्षा र काष्ठमण्डपबाट ए-लेभल पूरा गरेपछि उनी उच्च शिक्षाका लागि संयुक्त अधिराज्य (यूके) प्रस्थान गरे।
यूकेमा उनले ‘स्पोर्ट्स पर्फर्मेन्स’ मा अनर्ससहित ब्याचलर्स इन साइन्स उत्तीर्ण गरे। अध्ययनकै क्रममा उनले लीड्स (यूके) मा फुटबल र रग्बीको क्षेत्रमा हाई-पर्फर्मेंस कोचिङको सीप विकास गरे भने आफैँ पनि एमेच्योर र सेमि-प्रोफेसनल स्तरका प्रतिस्पर्धाहरूमा भाग लिए।
खेल कौशलकै कारण उनले पोल्याण्डको थर्ड डिभिजनमा सेमि-प्रोफेसनल फुटबल खेले भने स्पेनको प्रोफेसनल लिगमा समेत ट्रायल दिए। तर, खेलप्रतिको अगाध निष्ठा र क्षमता हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय लिगका कडा नियमहरू र नेपाली पासपोर्टका प्राविधिक कठिनाइका कारण उनले व्यावसायिक फुटबल खेलाडी बन्ने सपनालाई चटक्कै छाड्नुपर्यो।
तर उनले हरेस खाएनन्, बरु आफ्नो ज्ञानलाई खेलाडीहरूको चोट कम गर्ने र उनीहरूको प्रदर्शन सुधार्ने ‘स्पोर्ट्स फिजिकल एण्ड हाई-पर्फर्मेंस कोच’ का रूपमा रूपान्तरण गरे।
फुटबल मैदानको त्यो प्राविधिक अवरोधले साइतलाई जीवनको अर्को सर्वोच्च लक्ष्यतर्फ डोर्यायो। उनले संसारकै अग्लो शिर सगरमाथा चढ्ने कठिन संकल्प गरे र त्यसलाई सफलतापूर्वक पूरा गरे।
जीवनका थुप्रै उतारचढावहरूका बीच उनले सगरमाथाको चुचुरोलाई केवल आरोहणमा मात्र सीमित राखेनन्, बरु त्यहाँबाट आफ्नो आउटडोर फिटनेस कपडाको ब्रान्ड ”कापी” लन्च गरे। यो खेलकुद र टुरिजम विधामा विश्वकै सर्वोच्च स्थानबाट लन्च गरिएको इतिहासकै पहिलो ब्रान्ड बन्न सफल भएको छ।
साइतका अनुसार “कापी” केवल व्यापारिक ब्रान्ड मात्र नभएर समाजलाई सकारात्मक योगदान दिने एउटा बृहत् मानवीय मिसन हो। यस ब्रान्डले दुईवटा सामाजिक उद्देश्यका साथ काम सुरु गरिसकेको छ ।

समिट टु साइट : यस परियोजनाअन्तर्गत ब्रान्डले नेपालको तिलगंगा आँखा प्रतिष्ठान सँग साझेदारी गरेको छ। कापीको ‘समिट टु साइट’ प्रोडक्ट लाइनको कुल बिक्रीबाट हुने आम्दानीको ५ प्रतिशत हिस्सा मोतिविन्दूको निःशुल्क शल्यक्रियाका लागि तिलगंगालाई सिधै प्रदान गरिनेछ।
मिसन टु स्ट्यान्ड टल : आफू स्वयं क्लबफुटको समस्याबाट गुज्रिएकाले साइतले अपाङ्गता भएका बालबालिकाहरूका लागि अस्पताल तथा पुनर्नवा केन्द्र (एचआरडीसी) सँग साझेदारी गरेका छन्।
ब्रान्डको कुल आम्दानीको १ प्रतिशत हिस्सा क्लबफुट भएका विपन्न बालबालिकाको उपचारका लागि छुट्याइएको छ, ताकि कोही पनि बालबालिका आर्थिक अभावका कारण हिँडडुल गर्नबाट बञ्चित हुन नपरोस्।
“हाम्रा लागि यो केवल व्यापार वा ब्रान्ड स्थापित गर्नु मात्र थिएन, बरु समाजका लागि अर्थपूर्ण र दीर्घकालीन रूपमा सकारात्मक प्रभाव छोड्नु थियो,” साइत भन्छन्।
शारीरिक कमजोरी र राहदानीका अवरोधहरूलाई छिचोल्दै सगरमाथाको उचाइबाट मानवताको सन्देश फैलाउने साइत शर्मा र उनको ब्रान्ड “कापी” को यो यात्रा आज विश्वभरका युवाहरूका लागि प्रेरणाको एउटा स्रोत बनेको छ।







डिसी नेपाल







Facebook Comment