दिल्लीबाट चोरी भएको दुई करोडभन्दा बढीको हिरामोती र गरगहना सुदूरपश्चिम प्रहरीद्वारा बरामद, तीन जना पक्राउ
धनगढी। भारतको नयाँ दिल्लीबाट करोडौँ मूल्य बराबरको धनसम्पत्ति चोरी गरी नेपाल भित्र्याइएको हिरामोती, सुनचाँदीका गरगहना, बहुमूल्य घडी र नगदसहित करिब दुई करोड १० लाख रुपैयाँ बराबरको सम्पत्ति नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश कार्यालयले बरामद गरेको छ।
गत फागुन १३ गते दिल्लीस्थित राजेन्द्रनगरका सञ्जयकुमार माखिजाको घरबाट सो धनसम्पत्ति चोरी गरी बाजुराको बुढीगंगा नगरपालिका-१० का उपेन्द्र रावतसहितको टोली फरार भएको थियो। घरधनी माखिजाले नेपाल प्रहरीमा बैधानिक रूपमा उजुरी दिएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले विशेष सक्रियताका साथ घटनाको सघन अनुसन्धान सुरु गरेको थियो।
लामो र सूक्ष्म अनुसन्धानपछि प्रहरीले चोरीमा संलग्न उपेन्द्र रावतसहित बाजुराको खप्तड छान्ना गाउँपालिका-३ का लोकेश धामी र अछामको साँफेबगर नगरपालिका-४ का अर्जुन सुनारलाई मुलुकका विभिन्न स्थानबाट पक्राउ गर्न सफल भएको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक महेश शाहीले जानकारी दिए।
अभियुक्तहरूले चोरी गरिएका बहुमूल्य गरगहना र नगद आफ्ना विभिन्न आफन्तका घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो। पक्राउ परेका तीनै जनाको साथबाट बरामद गरिएका सम्पूर्ण गरगहना, नगद र विभिन्न देशका मुद्राहरू कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित उजुरीकर्ता (घरधनी) लाई बुझाइसकिएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले विभिन्न जिल्ला प्रहरी कार्यालयहरूसँगको आपसी साझेदारी र समन्वयमा यो अपरेसन चलाएको थियो।
बरामद गरिएका सामग्रीहरूको विवरण सार्वजनिक गर्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले अभियुक्तहरूका साथबाट नेपाली मूल्य एक करोड ३४ लाख रुपैयाँ पर्ने १२ वटा महँगा घडी, ४३ लाख ३३ हजार १४५ रुपैयाँ बराबरका विभिन्न सुनका गरगहना, १५ लाख ५६ हजार रुपैयाँ बराबरको हिरा र सुनका रिङ बरामद भएको बताए।
यसका साथै दुई लाख १५ हजार ५३० रुपैयाँ बराबरका चाँदीका गरगहना, तीन लाख रुपैयाँ बराबरको अन्य सुन र १२ लाख ९० हजार रुपैयाँ नेपाली नगद समेत बरामद गरिएको डीआईजी रानाले स्पष्ट पारे।
मुख्य आरोपी अझै फरार
यस ठूलो चोरीकाण्डमा संलग्न भनिएका मुख्य योजनाकार तथा आरोपी भने अझै प्रहरी नियन्त्रणभन्दा बाहिर रहेका छन्। प्रहरीले हाल बरामद गरेको सम्पत्तिभन्दा अझ धेरै चोरीको हिस्सा ती मुख्य व्यक्तिसँगै हुन सक्ने अनुमान गरेको छ।
अनुसन्धान अधिकृत एवं प्रहरी निरीक्षक महेश शाहीका अनुसार फरार रहेका मुख्य आरोपीको खोजीमा प्रहरीले आफ्नो विशेष टोली परिचालन गरिसकेको छ भने अनुसन्धान अझै जारी रहेकाले उनी पनि छिट्टै कानुनी फन्दामा पर्ने सम्भावना बलियो छ
। अनुसन्धानको संवेदनशीलता र सुरक्षा रणनीतिलाई ध्यानमा राख्दै प्रहरीले ती मुख्य आरोपीको पहिचान र विस्तृत विवरण भने हाललाई गोप्य नै राखेको छ।







डिसी नेपाल







Facebook Comment